उज्वेकिस्तानले भारतमा उत्पादित खोकीको औषधीबाट १८ जना बालबालिकाको मृत्यु भएको आरोप लगाएको छ । भारतीय कम्पनी म्यारिअन बायोटेकले बनाएको खोकीको झोल औषधी खाएका २१ जना मध्ये १८ जना बालबालिकाको मृत्यु भएको उज्वेकिस्तानको स्वास्थ्य मन्त्रालयले दाबी गरेको हो ।स्वास प्रश्वासको समस्या भएका बालबालिकाहरुलाई म्यारिअन बायोटेक कम्पनीको डक वान म्याक्स नामको झोल औषधी ख्वाइएको र त्यसबाट उनीहरुको मृत्यु भएको बताएको हो ।
अस्पताल भर्ना हुनु अघि ती बालबालिकाहरुलाई घरमै दिनको तीन चार पटक दुई देखि सात दिनसम्म उक्त औषधी ख्वाएको पाइएको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।उज्वेकिस्तानले गम्भीर आरोप लगाएपछि भारतको स्वास्थ्य मन्त्रालयमा उक्त औषधी कम्पनीमाथि छानबिनका लागि दबाव बढेको छ । तर, अहिलेसम्म भारतको स्वास्थ्य मन्त्रालयले कुनै कदम भने उठाएको छैन ।
उक्त औषधीमा इथाइलन ग्लीकोल नामक टक्सिन मिसाइएको हुने र त्यसको अत्यधिक प्रयोगले बिरामीको अवस्था बिगार्न सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । मृतक बालबालिकाका अभिभावकहरुले डाक्टरको सल्लाह बिना औषधी ख्वाउँदा समस्या भएको हुनसक्ने बताइएको छ ।
