अमेरिकामा हिमपात र चिसो आँधीबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।न्युयोर्क राज्यको बफेलो शहरमा मात्रै गत २४ घण्टामा २८ जनाको मृत्यु भएको हो । न्युयोर्कका केही ठाउँमा ३ दिनको अवधिमा १ सय इन्च बाक्लो हिउँ थुप्रिएको छ । सोही शहरमा लुटपाट समेत मच्चिएको छ । स्थानीयहरुले पसलहरुमा लुटपाट गरी टेलिभिजन र पलंग लगायतका फर्निचर लगायत औषधि पसलमा समेत लुटपाट मच्चाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
हिमपातसँगै हावाहुरी चलेकाले ४ हजार बढी हवाई उडानहरु रद्द हुँदा लाखौं यात्रु अलपत्र परेका छन् । आँधीसँगै आएको हिमपहिरोमा थुप्रै बेपत्ता भएका छन् । यसैबीच मौसम विद्हरुले तापक्रम बढेपछि हिउँ पग्लेर बाढी आउन सक्ने चेतावनी दिएका छन् । सडकको हिउँ पन्छाउन सकिने अवस्था समेत नहुँदा बफेलो शहरमा सैनिक परिचालन गरिएको छ । हिमपातका कारण घरमा थुनिएका मानिसहरुको उद्धार गर्ने अवस्था समेत नरहेकाले थप मानिसको मृत्यु हुन सक्ने अनुमान गरिएको छ ।
