रुसले युक्रेन र युरोपको सुरक्षासम्बन्धी वार्तामा संयुक्त राज्य अमेरिकासँग कुनै सहयोग स्वीकार नगर्ने बताएको छ । रुसले आज आइतवार युक्रेन र युरोपको सुरक्षासम्बन्धी वार्तामा अमेरिकासँग कुनै सहुलियत–सहयोग स्वीकार नगर्ने जनाउँदै अमेरिकी सङ्केतहरूबाट निराश रहेको बताएको हो ।
‘हामी कुनै पनि सहुलियतमा सहमत हुने छैनौँ । त्यो पूर्णरूपमा बहिष्कृत छ’, रुसका उप–विदेशमन्त्री सर्गेई ¥याबकोभले रुसी समाचार एजेन्सीहरूलाई भन्नुभयो, ‘हामी पछिल्ला केही दिनमा वाशिङ्गटनबाट तर ब्रसेल्सबाट पनि आउने सङ्केतहरूबाट निराश छौँ ।’ पछिल्ला केही दिनयता युक्रेनको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढिरहेको छ । अमेरिकाले युक्रेनसँगको सीमामा सेना परिचालन गरेको रुसले थप आक्रमण गर्न सक्ने भन्दै चेतावनी दिइरहेको छ तर रुसले त्यसलाई पटक–पटक अस्वीकार गर्दै आएको छ । रुसले आफ्नो भूमि रक्षाका लागि युक्रेनको सिमानामा सेना तैनाथ गरेको तर्क गर्दै आएको छ ।
यही विषयमा केही दिनअघि मात्रै दुई देशका राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको थियो । वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको विषयलाई लिएर नयाँ नाकाबन्दी लगाए अमेरिकासँगको सम्बन्ध पूरै विच्छेद हुने चेतावनी दिनुभएको थियो । टेलिफोन संवादमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि आक्रमण भएमा अमेरिका र उसका सहयात्री देशहरूले निर्णायक जवाफ दिने बताउनुभएको थियो ।
