अमेरिकाले कोरोना महामारी फैलिएपछि बन्द गरेको प्रतिबन्ध हटाउँदै आजरातीदेखि डबल डोज खोप लगाएका विदेशी आगन्तुकका लागि प्रवेश अनुमति दिने भएको छ ।अमेरिकाले २० महिनादेखि लगाएको प्रवेश प्रतिबन्धबाट बेलायतसहित युरोपेली युनियन सम्वद्ध ३० देशका नागरिक प्रभावित हुदै आएका थिए । उनीहरुलाई अमेरिकामा रहेका परिवारका सदस्य भेट्न जाने अनुमति पनि दिइएको थिएन ।
अमेरिकी प्रतिबन्ध हट्ने खबरसंगै एअरलाइन्सहरुमा टिकट बुकिङको बाढी लाग्न थालेको ट्राभल एजेञ्सीहरुले बताएका छन् । कोरोना भाइरस फैलिएपछि तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले शुरुमा चीनबाट जाने आगन्तुकलाई प्रतिबन्ध गरेको थियो भने विस्तारै त्यसको दायरा बढाएर युरोपेली युनियन, बेलायत, भारत, दक्षिण अफ्रिका, इरान, ब्रजिललगायतका मुलुकसम्म पुर्याईएको थियो ।
नयाँ नियम अनुसार अब अमेरिका जान चाहनेहरुले डबल डोज खोप लगाएको प्रमाण, तीन दिन भित्रको कोरोना नेगेटिभ रिपोर्ट र अमेरिका पुगेपछिको सम्पर्क नम्बर उपलब्ध गराउनु पर्ने छ । तर पर्यटकहरुले अमेरिका पुगेर क्वारेन्टिनमा बस्नु पर्ने छैन । यसैगरी क्यानडा र मेक्सिकोसंगको सिमाना पनि खुला गरिने भएको छ ।
