अमेरिकी राष्ट्रपति पदको जीत नजिक पुग्नुभएका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले आफूहरु जितको मार्गमा रहेको बताउँदै देशलाई एकीकृत बनाउन सबै मिलेर काम गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभएको छ । गृह राज्य डेलवरको विलमिङटनमा सम्बोधन गर्दै बाइडेनले आफुले दौड जित्ने दाबी गर्दै देशमा कोरोना भाइरसको महामारी नियन्त्रणमा लिनुपर्ने, गिरेको अर्थतन्त्र उकास्नुपर्ने, संस्थागत रुपमा रहेको रंगभेद, जलवायु परिवर्तन सहितका टड्कारो समस्या समाधानको पक्षमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले अब जनताको आवाज सुन्नका लागि नेतृत्व सम्हाल्ने दाबी समेत गर्नुभएको छ । सम्बोधनकै क्रममा उहाँले अहिलेको आवश्यकता सबै एकीकृत भएर देशका रुपमा आउनु पर्ने बेला आएको धारणा ब्यक्त गर्नुभयो । सम्बोधनको क्रममा अमेरिकी उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसको पनि उपस्थिती रहेको थियो । उहाँले मतभेदहरु थाँती राखेर देशका लागि एक हुनुपर्नेमा जोड दिंदै आफु प्रतिस्पर्धी हुन सक्ने तर शत्रु नहुने धारणा राख्नुभयो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘धाँधली’ तथा ‘छल’ गरेर आफूबाट नतिजा खोसिएको आरोप लगाएका बेला बाइडेनले राष्ट्रका नाममा सम्बोधन गरि एकताको सन्देश दिनुभएको हो । मतगणना अन्तिम चरणमा पुग्दा महत्वपूर्ण राज्यहरुमा जो बाइडेनले अग्रता कायम गरेका छन् । बाइडेनले २० तथा १६ लेक्टोरल कलेज मत रहेको पेन्सिलभेनिया र जर्जिया राज्यमा ट्रम्पलाई पछि पारेर अग्रता लिइराख्नु भएको छ ।
यता बर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा वैध मतका आधारमा आफू विजयी भएको दाबी गर्दै विपक्षीले अवैध मतका आधारमा जित्न चाहेको प्रतिक्रिया दिनुभएको छ ।पेन्सिलभेनियामा पराजित भएमा ट्रम्पको दोस्रो कार्यकाल ह्वाइट हाउसमा रहने सपना औपचारिक रुपमा सकिने छ ।
अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५ सय ३८ मध्ये २ सय ७० इलेक्टोरल कलेज मत चाहिन्छ । सो आँकडाको यात्रामा मतगणना जारी रहँदा बाइडेनले अग्रता हासिल गरिरहनुभएको छ ।
