अमेरिकी डेमोक्र्याटिक पार्टीले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा औपचारिक अनुमोदन गरेको छ । पार्टीको चार दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो । डेमोक्र्याटिक पार्टीले कोरोनाभाइरसको महामारीका कारण ठूलो सभा गर्नुको साटो यसपटक भर्चुअल विधिबाट अधिवेशन चलाइरहेको छ ।
पार्टीका निर्वाचित प्रतिनिधिहरुले भर्चुअल विधिबाटै ७७ वर्षीय बाइडेनलाई अनुमोदन गरेका हुन् । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । मिल्वाकीको सम्मेलन केन्द्रलाई अधिवेशन स्थल तोकिए पनि स्वास्थ्य चुनौतीलाई ध्यान दिई सबैजसो प्रबुद्ध व्यक्ति, शुभेच्छुक एवं पूर्व राष्ट्रपतिहरुले भर्चुअल विधिबाटै सम्बोधन गरिरहेका छन् ।
यी सम्बोधनहरु कुनै प्रत्यक्ष रुपमा गरिएका छन् भने कुनै रेकर्ड गरेर प्रशारण गरिएका छन् । बाइडेनको पक्षमा शुभकामना व्यक्त गर्नेहरुमा डेमोक्र्याट र रिपब्लीकन दुबै पार्टीका शीर्ष नेताहरु पनि रहेका छन् । पूर्व राष्ट्रपति बिल क्लिन्टन र विदेश मन्त्री जोन केरी तथा रिपब्लीकन पार्टीबाट पूर्व विदेश मन्त्री कोलिन पावेलले पनि विजयका लागि शुभकामना दिनु भएको छ ।
हाल ९५ वर्ष पुग्नु भएका पूर्व राष्ट्रपति जिम्मी कार्टर समेत भर्चुअल प्लेटफर्ममा देखा पर्नु भएको छ । कतिपय वक्ताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका नीतिहरुको कटु आलोचना गर्नु भएको छ । राष्ट्रपति ट्रम्पका कारण विश्वभर अमेरिकाको छवि धुमिल भएको उनीहरुको आरोप छ ।