अफ्रिकी महादेशको सबैभन्दा बढी प्रभावित मुलुक दक्षिण अफ्रिकामा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । मुलुकमा सङ्क्रमणको दरमा कमी आएसँगै सरकारले कोरोना महामारीलाई ध्यानमा राखेर लगाएको प्रतिबन्ध खुकुलो बनाउने तयारी गरेको छ । दक्षिण अफ्रिकी सरकारले भोलिदेखि रक्सी र सूर्तिजन्य पदार्थमाथि लगाइएको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।
राष्ट्रपति सिरील रामाफÞूसाले मुलुकमा कोरोना सङ्क्रमणको नराम्रो अवस्थाको अन्त्य भइसकेकाले अब कोरोना महामारी सामान्य अवस्थामा फर्किदै गएको बताउनुभयो । उहाँले मुलुकमा लगाइएको प्रतिबन्धलाई हटाइने तयारी भएको बताउनुभयो । उहाँले रेस्टुरेन्ट र अन्य कारोबार सुचारु गरिने तर अन्तर्राष्ट्रिय यात्रामा भने प्रतिबन्ध जारी रहने बताउनुभयो ।
दक्षिण अफ्रिकामा कोरोना भाइरसका कारण हालसम्म पाँच लाख ८३ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने ११ हजार ६ सय ७७ भन्दा बढीको मृत्यु भइसकेको छ ।