अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जातीय विभेदविरुद्धको प्रदर्शनको निन्दा गर्दै हिंसात्मक प्रदर्शन रोक्न निर्देशन दिनुभएको छ । आफ्नो चुनावी अभियानका क्रममा राष्ट्रपति ट्रम्पले जातीय विभेदविरुद्ध भएका प्रदर्शनहरु हिंसात्मक भएको भन्दै तत्काल रोक्न निर्देशन दिनुभएको हो ।
उहाँले आफूले अमेरिकी नागरिकका लागि राम्रो काम गरेकाले तोडफोड र आगजनीका घटनाहरु नियन्त्रण गर्न निर्देशन दिनुभएको सिएनएनले जनाएको छ । दुई हप्ताअघि अश्वेत अमेरिकन नागरिक जर्ज फ्लोइडको प्रहरीले नियन्त्रणमा लिने क्रममा हत्या गरिएको भन्दै सर्वत्र विरोध भइरहेका बेला राष्ट्रपति ट्रम्पले ती प्रदर्शनहरु न्यायका लागि नभइ हिंसात्मक भएको जिकिर गर्नुभएको हो । डलासमा भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पले सुरक्षाकर्मीलाई अझ सुविधसम्पन्न बनाउन थप लगानी गर्ने बताउनुभयो ।
केही विपक्षीले देशलाई विभाजन गर्न उठाएको जातीय नाराको विपक्षमा आफू रहेको भन्दै ट्रम्पले त्यसलाई पूरा हुनै नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । पछिल्ला दिनहरुमा फ्लोइड हत्या प्रकरणलाई लिएर राष्ट्रपति ट्रम्पका अभिव्यक्तिले विपक्षी दल र अमेरिकी नागरिक आन्दोलित भएका छन् ।