अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायु सेना प्रमुखमा पहिलोपटक अश्वेत नागरिकको नाम अनुमोदन गरेको छ । अमेरिकी सेनामा महत्वपूर्ण सेवा मानिएको वायु सेनाको प्रमुख पदमा जनरल चार्ल्स ब्राउन जुनियरको नामलाई सिनेटले अनुमोदन गरेको हो ।
अमेरिकी इतिहासमा वायुसेनाको नेतृत्व गर्न पाउने ब्राउन नै पहिलो अश्वेत नागरिक हुन् । सिनेटमा भएको मतदानमा ब्राउनको पक्षमा ९८ मत तथा विपक्षमा शून्य मत परेको थियो । सिनेट बैठकको अध्यक्षता गरेका उपराष्ट्रपति माइक पेन्सले ब्राउनको मनोनयन ऐतिहासिक रहेको बताउनुभएको छ ।
यतिखेर अमेरिकामा प्रहरी नियन्त्रणमा रहेका एक अश्वेत नागरिक जर्ज फ्लोएडको ज्यान गएपछि त्यहाँ प्रदर्शनले उग्र रूप लिएको छ । यसै अवस्थामा अश्वेत नागरिक ब्राउनको पक्षमा सिनेटको यो फैसलाले उक्त तनावलाइ मत्थर पार्न सक्ने सम्भावना छ ।
सन् १९८४ मा अमेरिकी वायु सेनामा अधिकृतका रूपमा भर्ना भएका ब्राउनले हालैका दिनहरुमा अमेरिकी प्रशान्त वायु सेनाको कमान्डरका रुपमा सेवा गरेका थिए । उनी स्वयं लडाकू विमानका पाइलट समेत हुन् । उनले अहिलेसम्म २ हजार ९०० घण्टा सैनिक विमान उडाएको बताइन्छ । उनले एफ–१६ लडाकू विमानको प्रशिक्षकका रुपमा पनि काम गरेका छन् ।