अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५८ | Colorodo: 05:13

सर्वोच्चको आदेशपछि ब्राजिलद्धारा कोरोना भाइरस सम्बन्धी पूर्ण तथ्यांक पुनः प्रकाशन गर्न सुरु

बिआरटीनेपाल २०७७ जेठ २७ गते २१:५२ मा प्रकाशित

ब्राजिलले तीव्र आलोचना भएपछि कोभिड–१९ बाट देशमा मृत्यु भएका तथा संक्रमितको पूर्ण तथ्यांकसहितका वेबसाइट पुनः सञ्चालनमा ल्याएको छ । ब्राजिल सरकारले कोभिड–१९ सम्बन्धी पूर्ण तथ्यांक रहेको बेवसाइट गएको शनिबार बन्द गरेको थियो । तर त्यसको तीव्र आलोचना भयो र सर्वोच्च अदालतमा सो बेवसाइड सञ्चालनको माग गर्दै मुद्दा दायर भयो ।

सर्वोच्चले बेवसाइट सञ्चालन गर्न आदेश दिएको केही घण्टापछि नै ब्राजिल सरकारले पूर्ण तथ्यांकसहितको बेवसाइट पुनः सुचारु गरेको हो । स्वास्थ्य मन्त्रालयले शनिबारदेखि कोरोना भाइरसबाट संक्रमित भएका तथा मृत्यु भएकाहरुको पूर्ण तथ्यांक प्रकाशित गर्न बन्द गरेको थियो । तर मंगलबार सर्वोच्च अदालतले सूचना लुकाउनु सेन्सरसिप हुने भन्दै सरकारलाई तथ्यांक सार्वजनिक गर्न आदेश दिएको हो ।

ब्राजिलमा संक्रमितको संख्या अमेरिकापछि विश्वमै सबैभन्दा धेरै छ । अहिले कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै दैनिक मृत्यु हुनेको संख्या ब्राजिलमै धेरै छ । राष्ट्रपति जायर बोल्सोनारोले कोभिड–१९ का सम्बन्धमा हुँदै आएको सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउनका लागि बेवसाइट बन्द गरिएको दाबी गर्नुभएको थियो ।

स्वास्थ्य मन्त्रालयले सबै तथ्यांक बारे जानकारी नदिइ पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट भएका मृत्यु तथा संक्रमणबारे मात्रै बताउने उल्लेख गरेको थियो । तर आलोचकले राष्ट्रपति बोल्सोनारोको सरकारले तथ्यांकमा जालझेल गर्न खोजेको भन्दै सबै विवरण उपलब्ध हुनु पर्ने बताएका थिए । राज्यका स्वास्थ्य सचिवहरुको नेशनल काउनशिलले राष्ट्रपतिको कार्यलाई तानाशाही, असंवेदनशील, अमानवीय र अनैतिक भनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय