विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारी नियन्त्रणमा आउन लामो समय लाग्न सक्ने बताएको छ । नियन्त्रणको गति सुस्त हुने संकेत देखिएसंगै उसले यस्तो भनेको हो । डब्लुएचओका अनुसार विश्वमा बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ । २४ घण्टामा विश्वका एक लाख ६ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिएको हो ।
डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी अन्त्य हुन धेरै समय लाग्ने चेतावनी दिनुभयो । डा. टेडरोजले पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशहरुमा संक्रमण बढ्दै गएकोमा विशेष चासो व्यक्त गर्नुभएको छ । विज्ञहरुले विश्वमा संक्रमितको वास्तविक संख्या अहिले बाहिर आएको भन्दा धेरै हुन सक्ने बताएका छन् । धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमण पुष्टि हुन नसकेको अवस्था रहेको स्वास्थ्य विज्ञको भनाई छ ।
यस्तै डब्लुएचओको आपतकालीन निर्देशक डा. माइक रायनले कोरोना भाइरस विरुद्धको उपचारमा मलेरियाको औषधि क्लोरोक्वीन र हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगलाई लिएर पनि चेतावनी दिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोना भाइरसबाट जोगिनका लागि हाइड्रोक्सिक्लोरोक्वीन लिएको भन्दै त्यसको प्रयोगमा प्रोत्साहन प्रदान गर्नुभएको थियो । तर डा. रायनले भने औषधिको प्रभावकारिता प्रमाणित नभएकाले प्रयोग नगर्न भन्नुभएको छ ।