ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलो शहरको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको छ । उक्त शहरका मेयरले शहरको स्वास्थ्य सेवाले धान्नै नसक्ने गरी माग बढेकाले समस्या आएको बथाएउनले बताएका छन् । कोरोना भाइरसको महामारी पछिल्ला दिनमा लागातार बढिरहँदा अस्पतालहरुमा आपतकालीन बेडहरुको माग अधिक भएको र यहि क्रम जारी रहेमा स्वास्थ्य सेवा प्रणाली चाँडै ‘कोल्याप्स’ हुने मेयर ब्रसनो कोभासले बताएका छन् ।
अहिले शहरका अस्पतालहरु ९० प्रतिशत भन्दा बढी बेड प्रयोग भएको र यस्तै अवस्था रहे अबको दुई हप्ताभित्र माग धान्न नसक्ने उनको भनाई छ । कोरोना भाइरसका कारण ब्राजिलमा सबैभन्दा बढी प्रभावित भएको शहरमध्ये साओ पाउलोमा अहिलेसम्म झण्डै ३ हजार मानिसको मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसका कारण १६ हजार ११८ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या ब्राजिलमा दुई लाख ४१ हजार ८० रहेको छ ।
ब्राजिलका स्वास्थ्य विज्ञहरुले भने संक्रमितको वास्तविक संख्या अहिले बाहिर आए भन्दा धेरै हुन सक्ने बताएका छन् । पर्याप्त मात्रामा परीक्षण नभएकाले संक्रमितको संख्या बढी भए पनि थाहा नभएको हुन सक्ने बताइएको छ । राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरस महामारीलाई गम्भीर रुपमा नलिएको बताईएको छ । उहाँले लकडाउन आवश्यक नरहेको र कोरोना भाइरस सामान्य फ्लूजस्तै रहेको बताउने गर्नुभएको छ । सोही कारण ब्राजिल भित्रै र अन्तर्राष्ट्रिय तहमा पनि उहाँको आलोचना भइरहेको छ ।
