रूसले ७५ औँ विजय दिवस कोभिड–१९ को अन्त्यपछि शानदाररूपमा विशेष उत्सवका साथ मनाउने भएको छ । रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले कोभिड–१९ महामारीको समाप्तिपछि भव्य देशभक्त युद्धको विजयको ७५ औँ वर्षगाँठ मनाउने बताउनुभएको हो । रूसले महामारीको अन्त्यपछि ‘व्यापक तथा शानदार’ समारोहबीच ७५ औँ विजय वर्षगाँठलाई मनाउने उहाको भनाई थियो ।
क्रेमलिनको पर्खाल बाहिर दोस्रो विश्वयुद्धमा तत्कालिन सोभियत संघको तर्फबाट युद्ध लड्ने क्रममा ज्यान गुमाएका ज्ञात अज्ञात शहीदहरूप्रति फूलमाला अर्पण गरेपछि पुटिनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । “विजय दिवसको आत्मिक, नैतिक तथा उत्कृष्ट महत्व सधैं रहन्छ र यसप्रति हाम्रो दृष्टिकोण पवित्र छ । यो हाम्रो स्मृति र गौरव हो, हाम्रो देशको इतिहास, प्रत्येक परिवारको इतिहास हो,” उहाँले रूसी जनतालाई विजय दिवसका अवसरमा वधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो । रूसले मे ९ लाई हरेक वर्ष विजय दिवसका रूपमा मनाउने गर्छ र उक्त दिन रूसमा राष्ट्रिय विदा पनि दिइन्छ ।
रूसबाट नाजी शासनको अन्त्य भएको घोषणा गर्दै यसै दिन वैधरूपमा एक कानूनी घोषणा गरिएको कागजातमा हस्ताक्षर गरिएको थियो । तत्कालिन सोभियत राष्ट्र रूसमा महान् देशभक्त युद्धलाई सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धको अभिन्न अङ्गका रूपमा सम्झिने गरिन्छ । विनासकारी उक्त युद्धमा करिब दुई करोड ७० लाख मानिसको मृत्यु भएको विश्वास गरिन्छ ।