अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२२ | Colorodo: 23:37

भेनेजुयलाको कारागारमा दंगा भड्किँदा ४६ कैदीको ज्यान गयो, निर्देशकसहित ६० घाइते

बिआरटीनेपाल २०७७ वैशाख २० गते २२:०२ मा प्रकाशित

पश्चिमी भेनेजुएलाको पोर्तुगासास्थित एक कारागारमा दंगा भड्किँदा कम्तीमा पनि ४६ जनाको ज्यान गएको छ । त्यहाँका मानव अधिकारवादी समूह र विपक्षी सांसदले जनाएअनुसार कारागारमा दंगा हुँदा ४६ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् । ४६ वटा शव पहिचान भइसकेको छ समाचार एजेन्सी अलजजिराले लेखेको छ ।

त्यहाँका मन्त्री आइरिस भरेलाले मिडिया समक्ष बताएअनुसार कारागारबाट कैदीहरु भाग्न खोज्दा हुल्दंगा भएको थियो । दंगाका क्रममा कारागारका निर्देशक समेत गोली लागेर घाइते भएका छन् । पोर्चुगासाका विपक्षी सांसद मारिया बियत्रियास मार्टिनेजले भने कैदीका परिवारका सदस्यहरूलाई भेटघाटको बेला खानेकुरा ल्याउन प्रतिबन्ध लगाएपछि दंगा भड्किएको बताएका छन् । कैदीहरुलाई आफन्त र परिवारले लगेको खाना नदिएपछि यस्तो अवस्था उत्पन्न भएको विपक्षी सांसदहरुले बताएका छन् ।

सरकारले कोरोना भाइरस संक्रमणको त्रासका कारण कैदीहरुलाई खाना दिन प्रतिबन्ध लगाएको थियो । भेनेजुएलामा हालसम्म ३४५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने १० जनाको मृत्यु भइसकेको छ । जेलमा भने संक्रमण फैलन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको थियो । हाल भेनेजुएलामा करिब ५ सय जेल रहेको र त्यहाँ १ लाख १० हजार कैदी रहेको बताइएको छ । कैदीहरुको तुलनामा जेल थोरै भएको र भीड हटाउनुपर्ने मानव अधिकारकर्मीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय