अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 12:43

राष्ट्रपति ट्रम्पद्धारा पुनः पत्रकारको आलोचना, न्यूयोर्क टाइम्सलाई बेइमान पत्रिकाको संज्ञा

बिआरटीनेपाल २०७७ वैशाख ६ गते २२:४३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि पत्रकारहरुप्रति आक्रमक बन्नुभएको छ । उहाँले आफ्नो प्रशासनको आलोचना गरेर खबर लेख्ने पत्रकारलाई तल्लो दर्जाको संज्ञा दिनुभयो । शनिबार आफ्नो नियमित पत्रकार सम्मेलनमा ट्रम्पले पुलित्जर पुरस्कार विजेता न्यूयोर्क टाइम्सकी पत्रकार म्यागी हेबम्यानको गम्भीर आलोचना गर्नुभएको हो ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोस रोएको सम्बन्धी खबर लेखेकी हेबम्यानलाई उहाँले सार्वजनिक रुपमै भँडास पोख्नुभयो र औल्याउँदै भन्नुभयो, हेबम्यानले पुलित्जर पुरस्कार नै फिर्ता गर्नुपर्छ । ट्रम्पले भन्नुभयो ‘मैले पनि मार्क मेडोस रोएको सम्बन्धी स्टोरी पढेँ । यो स्टोरी लेख्ने तिनै म्यागी हेबम्यान हुन्, जसले रुसको स्टोरीका लागि पुलित्जर पुरस्कार पाएकी थिइन् । तर उनी रुसलाई लिएर गलत थिइन् । उनले त पुलित्जर पुरस्कार फिर्ता गर्नु पर्छ ।’

ट्रम्पले म्यागीलाई तल्लोस्तरको पत्रकारसमेत भन्नुभयोे, ‘म्यागी थर्डग्रेड रिपोर्टर हुन् । हामीले उनी कस्ती रिपोर्टर हुन् भन्ने बताएपछि उनले मार्क मेडोस रोएको भन्ने स्टोरी गरेकी हुन् । न्यूयोर्क टाइम्स अति बेइमान पत्रिका हो । यो मेरो धारणा हो । यसमा कुनै आंकलन छैन, सत्य कुरा हो ।’

न्यूयोर्क टाइम्सकी रिपोर्टर म्यागीले सन् २०१८ मा सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपका बारेमा लेखेको समाचारका लागि पुलित्जर पुरस्कार पाएकी थिइन् । पत्रकार म्यागीले पनि ट्रम्पलाई जवाफ दिँदै ट्वीट गरेकी छन् । ट्रम्प लगातार पत्रकार तथा सञ्चारमाध्यमको आलोचना गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू