कोरोनाभाइरस् संक्रमणका कारण रोकथामका लागि डेनमार्कले गरेको लकडाउन खुकुलो गरी विद्यालय सञ्चालनमा ल्याएको छ । कोरोनाभाइरस् (कोभिड(१९) संक्रमण फैलन नदिन करिब एकमहिनादेखि जारी लकडाउनलाई खुकुलो गर्दै साना बालबालिकाका लागि विद्यालय सञ्चालन गरेको हो ।
डेनमार्कले अप्रिल १५ देखि शिशु स्याहार केन्द्र तथा शुन्यदेखि पाँच कक्षासम्मका विद्यालय सञ्चालनको सुरुवात गरेको छ। बालबालिकाहरूले आपसमा दुरी कायम राख्ने, सरसफाइमा विशेष ध्यान दिइने तथा सम्भव भएसम्म खुला स्थानमा कक्षा सञ्चालन गर्ने गरी पहिलो चरणमा साना कक्षादेखि विद्यालय सञ्चालन गरिएको छ । त्यस्तै स्थिति अनुकूल रहेमा क्रमशः ठूला कक्षा र अन्य रोजगारीका क्षेत्रलाई सचेतनापूर्वक खुकुलो पार्दै लगिने पनि बताइएको छ।
पछिल्ला दिनहरुमा डेनमार्कमा कोरोना संक्रमण फैलावटको अनुपात क्रमशः सुधारोन्मुख देखिएको दाबी गर्दै प्रधानमन्त्री मेत्ते फेडेरिक्सनले अझै पनि सरकारले तोकेका मापदण्ड र अनुशासनको भने पूर्ण पालना गर्न सचेत गराउनुभएको छ । डेनमार्कमा हालसम्म ६ हजार सात सयको हाराहारीमा कोरोना संक्रमित पाइएका छन् भने ३ सय नौ जनाले ज्यान गुमाएका छन्। बेलैमा सचेतना अपनाइएको र नागरिकले पनि अनुशासित भएर त्यसको पालना गरेकाले सोचेभन्दा छिटो लकडाउन खोल्ने दिशातर्फ अग्रसर हुन सकिएको प्रधानमन्त्री फेडेरिक्सनको भनाइ छ।
यूरोपका अधिकांश देशले अझै लकडाउन कडाइ गरिरहेकै बेला डेनमार्कले साना बालबालिकाका लागि विद्यालय खोलेको अवस्थामा कतिपय अभिभावकले भने असहजसमेत महसुस् गरिरहेका छन् ।