अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०९ | Colorodo: 12:24

सन् २०२२ सम्म सामाजिक दुरी (Social Distancing) कायम राख्नु पर्छ

बिआरटीनेपाल २०७७ वैशाख ३ गते २१:३९ मा प्रकाशित

वासिङ्टन, कोरोना भाइरसको सङ्क्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको सङ्क्रमणको खतरा कम्तीमा पनि २०२२ सम्म रहिरहने देखाएको हो । विश्वविद्यालयका स्टेफन किसलरले नेतृत्व गरेको टोलीले कोरोना भाइरसको चरित्र, सर्ने प्रवृत्ति, क्षमतालगायतलाई आधार मानेर यो निष्कर्ष निकालेको जनाएको छ ।

विश्व भरी सबै जसो देशमा पुगिसकेको कोरोना भाइरसलाई विश्वभरिबाटै निर्मूल पार्नु ठुलो चुनौतीपूर्ण कार्य भएको र अहिलेको चरणमा नियन्त्रण जस्तो देखिए पनि अर्को चरणमा पुनः फैलिनसक्ने पनि उनीहरूले अनुमान गरेका छन् । अनुसन्धानकर्ताहरुले कोरोना भाइरस विरुद्धको कुनै खोप नआएमा वा यसलाई नियन्त्रण गर्ने कुनै उपाय सृजना नभएसम्म सामाजिक दुरी कायम गर्नै पर्नेमा जोड दिएका छन् । सामाजिक दुरी कायम गर्नु वा उच्च निगरानीमा रहेर उपचार गराउनु नै यसबाट बच्ने मुख्य उपाय हो, अनुसन्धानकर्ताहरुले अध्ययन प्रतिवेदनमा लेखेका छन् ।

उनीहरूले उच्च सतर्कतासहितको उपचार सेवालाई सबै देशले थप विस्तार गर्नु पर्नेमा पनि जोड दिएका छन् । अध्ययनकर्ताहरुले सन् २०२४ सम्ममा मात्र कोरोना भाइरस विरुद्ध सजिलै लड्न सक्ने गरी व्यवस्थापन हुने अनुमान पनि गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनले पनि औषधी वा खोप तयार नहुँदासम्म यो रोगको जोखिम रहिरहने जनाएको छ । सङ्गठनले विश्व भरी दर्जनौँ वैज्ञानिकहरूले खोप तयार पार्न परीक्षण र प्रयासहरू जारी राखेको पनि जनाएका छन् । कोरोना भाइरसका कारण बिहीवारसम्म संसार भरी २० लाख ८३ हजार ३०४ जना सङ्क्रमित भएका छन् भने एक लाख ३४ हजार ६१६ जनाको मृत्यु भएको छ ।

यसको संक्रमण अहिलेसम्म २१० देशमा फैलिएको छ । मृत्यु हुने र सङ्क्रमित हुनेहरू सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा ६ लाख ४४ हजार ०८९ जना बिरामी हुँदा २८ हजार ५२९ जनाको मृत्यु भएको छ । राससएनआई

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू