एजेन्सी । इन्डियानाका एक जना भोलिन्टियर फायर फाइटरले जिन्दगीभर नभुल्ने ‘सर्प्राइज’ पाएका छन् । चाल्र्स केभिननामक न्यू सिकागोका ती मानिस हालै २ सय डलर निकाल्न एटिएम पुगे । रकम निकालिसकेपछि उनले रिसिट हेरे । त्यसमा उनले आफ्नो खातामा भएको रकममा केही जिरो अस्वाभाविक रूपमा थपिएको भेटे ।
उनको खातामा ८ मिलियन २ लाख डलर थियो । जबकि उनले कोरोना भाइरस पीडितले पाउने १ हजार ७ सय डलरको मात्र अपेक्षा गरेका थिए । उनले फेरी एटिएममा कार्ड घोटे । एटिएमले उनको खातामा ८ मिलियन २ लाख डलर नै भएको देखायो । अर्थात्, उनी मिलेनियर बनेका थिए । केल्भिनले आफ्नो खातामा भएको रकमबारे ब्याङ्कलाई जानकारी दिन तत्काल फोन गरे । तर, त्यतिन्जेल उनको खाताबाट रकम गायब भइसकेको थियो । ब्याङ्कले उनको खातामा कोरोना भाइरस पीडितले पाउने १ हजार ७ सय डलर मात्र जम्मा भएको जानकारी दियो ।
उक्त रकम झुक्किएर उनको खातामा आएको थियो कि सबै करदाताले सही हिसाबले रकम पाइरहेका छैनन् र यस्तो भएको हो भन्ने केल्भिनलाई शङ्का छ । तर, जवाफ छैन । दोष कसलाई दिने भन्ने पनि उनलाई थाह छैन । ‘मिलेनियरबाट एकै सेकेन्डमा कङ्गाल हुँदा नराम्रो लाग्छ,’ उनी भन्छन् ।