अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडबाट सिनेटर बर्नी सान्डर्स बाहिरिनुभएको छ । डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडबाट आफू बाहिरिएको घोषणा सिनेटर सान्डर्सले गरेसँगै पूर्व उपराष्ट्रपति जो बाइडेनका लागि मार्ग प्रसस्त भएको छ । जो बाइडने आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्या्टिक पार्टीका उम्मेदवार बन्ने पक्का भएको छ । चार वर्षअघि सन् २०१६ को चुनावमा पनि बर्नी सान्डर्सले उम्मेदवार बन्ने प्रयास गर्नुभएको थियो , तर हिलारी क्लिन्टन उम्मेदवार बन्नुभएको थियो ।
७८ वर्षका सिनेटर सान्डर्सले बुधबार आफ्ना समर्थकलाई सम्बोधन गर्दै मनोनयन प्राप्त गर्न चाहिने जति मत पाउने सम्भावना नदेखेकाले आफू चुनावी होडबाट बाहिरिएको बताउनुभयो । सुरुका फ्रन्टरनर सान्डर्सले युवा मतदाताको मन जित्नुभएको थियो । तर पछिल्ला केही हप्तादेखि उहाँ उपराष्ट्रपति जो बाइडेन भन्दा पछि देखिनुभएको थियो । उहाँले स्वास्थ्य सेवा र आयमा रहँदै आएको असमानतालाई आफ्नो अभियानको प्रमुख मुद्दा बनाउनुभएको थियो ।
सान्डर्स बाहिरिएसँगै आउँदो अगस्टमा हुने डेमोक्र्याटिक पार्टीको नेशनल कन्भेन्सनले जो बाइडेनलाई आफ्नो पार्टीको औपचारिक उम्मेदवार घोषणा गर्ने छ । बाइडेनले नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्नुहुनेछ । सान्डर्स बाहिरिएपछि प्रतिक्रिया दिँदै ट्रम्पले सन् २०१६ को चुनावमा धेरै सान्डर्स समर्थकबाट आफूले मत पाएको र अहिले पनि त्यो अपेक्षा रहेको टिप्पणी गर्नुभयो ।