अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले पर्पल नोटिस जारी गर्दै कोरोनाभाइरस (कोभिड–१९) लक्षित अस्पतालसहित अन्य संघ संस्थाहरूलाई साईबर अपराधीहरूले निशाना बनाएकाले होसियार र सुरक्षित हुन सचेत गराएको छ । उसले विश्वभर रहेका १ सय ९४ सदस्य राष्ट्रहरूलाई कोभिड–१९ विरुद्धको कारवाहीमा साईबर अपराधीले र्यान्समेयर आक्रमण गर्ने भएकाले सचेत रहन भनेको हो ।
र्यान्समेयर एकप्रकारको कम्प्युटर भाइरस हो । ह्याकरहरूले कम्प्युटरलाई कब्जामा लिइ त्यसमा रहेका दस्तावेज र प्रोगाममाथि कब्जा जमाउने र त्यसबाट मुक्तिका लागि मोटो रकम फिरौती लिने गरिन्छ । यही अपराधलाई र्यान्समेयर भनिन्छ ।
इन्टरपोलले अग्रपंत्तिमा रहेका संघसंस्थाहरूलाई उनीहरूको सिस्टममा कुनै पनि समय साईबर अपराधीको आक्रमण हुनसक्ने भएकोले सचेत रहन भनेको छ । उसले त्यस्ता संस्थाहरूलाई चेतावनी दिँदै भनेको छ “यस विषम परिस्थितीमा उनीहरूले आक्रमण गरेर ठूलो परिमाणमा रकम फिरौती लिने योजनामा छन्, होसियार हौं ।“ सिंगापुरबाट विश्वभर रहेका आफ्ना सदस्य इकाईहरूमा नोटिस जारी गरेको इन्टरपोलले साईबर अपराधीहरूको चलखेलको संकेत पाएपछि सूचना जारी गर्नु परेको जनाएको छ । उसको साईबर अपराध विरुद्ध कारबाही गर्ने साईबर फ्युजन सेन्टरले कोभिड–१९ विरुद्ध सक्रिय मुख्य तथा प्रमुख अन्तर्राष्ट्रिय संस्थाको वेबखातामा धेरै पटक आक्रमणको प्रयास भएको जनाएको हो ।
साईबर अपराधीहरूले अस्पताल र औषधी उत्पादन तथा वितरण सेवालाई आफ्नो कब्जामा लिएर सम्पूर्ण कामकारबाही ठप्प बनाउने र त्यसको फिरौतीमा रकम असुली गर्न सक्ने इन्टरपोलले भनेको छ । उसले आफ्नो साईबर अपराध विरुद्ध सक्रिय इकाईले र्यान्समेयरको खतराको सूचीमा रहेका संघसंस्थालाई चाँडै जानकारी गराउने जनाएको हो ।
इन्टरपोलका अनुसार साईबर अपराधीले सुरुवातमा इमेल पठाएर तपाईको देशमा सरकारले कोभिड–१९ विरुद्धको कारबाहीमा के गरिरहेको छ ? वा तपाईको अवस्था के छ ? भन्ने जस्ता बिषयमा कुरा गर्न खोज्नेछन् । यस्तै तपाईलाई कोभिड–१९ विरुद्ध सरकारले के गर्नुपर्छ भन्ने ठान्नु हुन्छ? जस्ता सुझाव समेत माग्न सक्नेछन् ।
यदी यस्ता साईबर अपराधीले थापेको बल्छी इमेलको जवाफ दिए उसले आक्रमणका लागि बाटो पाउने छन्। यस्तै उनीहरूले इमेलमा पठाएका डकुमेन्टमा क्लिक गर्नासाथै कम्प्युटर भाइरस सक्रिय हुनेछ । “हामी विश्वभर रहेका आफ्ना इकाइहरूसँग छलफलमा छौं,” इन्टरपोलले जारी गरेको विज्ञप्तीमा भनिएको छ “हामी साईबर अपराधी र संभावित आक्रमणका बिषयमा सूचना समेत जुटाउँदै छौं ।”
इन्टरपोलले आफ्ना सदस्य राष्ट्रहरूलाई यस्ता आक्रमण रोक्न र भइ हाले त्यसबाट जोगाउन प्रारम्भीक सहयोग गर्ने जनाएको छ । उसले कोभिड–१९ विरुद्धको कारवाहीमा क्रियाशिल अस्पताल, औषधी उत्पादक र वितरक तथा यस सम्बद्ध संघसंस्थाहरूको सूची समेत बनाएर उनीहरूलाई सुपरिवेक्षणमा राख्ने छ । इन्टरपोलले महामारी रोकथामका लागि राहत, उद्दार र सहयोगका ठुला कोषदाता समेत साईबर अपराधीहरूको निशानामा रहेको अनुमानपछि नोटिस जारी गरेको हो ।
इन्टरपोलले अनावश्यक वा नयाँ कुनै इमेल आएमा नखोल्ने र अनावश्यक सफ्टवेयर डाउनलोड नर्गन भनेको छ । उसले विश्वसनिय इमेल र सफ्टवेयर रोजेमा आक्रमणबाट जोगिन सकिने बताएको छ । यस्तै आफ्नो इमेल सिस्टम बलियो बनाउन र आफूसँग रहेका महत्वपूर्ण दस्तावेज विभिन्न ठाँउमा सुरक्षित राख्न समेत इन्टरपोलले सुझाएको छ ।
