कोरोना भाइरसको बढ्दो संक्रमणका कारण इटालीमा एकै दिन ६ सय २७ जनाको मृत्यु भएको छ । पछिल्लो एक महिनामा इटालीमा भाइरसको महामारीबाट सबै भन्दा बढीको मृत्यु भएको हो । हालसम्म इटालीमा मात्र कोरोनाका कारण ४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
इटाली, जर्मन र स्पेनमा संक्रमण बढ्दै गएपछि कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार भन्दा बढी पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार कोरोनाको संक्रमणबाट संसारभर करिब ११ हजारको मृत्यु भइसकेको छ भने दुई लाख मानिस संक्रमित भएका छन् ।
यसैबीच विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोनाको संक्रमणबाट कोही पनि मुक्त नरहेको स्पष्ट पारेको छ । युवाहरुको तुलनामा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएपनि युवाहरु पनि संक्रमणको जोखिमबाट मुक्त नरहेको डब्लुएचओले स्पष्ट पारेको छ ।