अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२४ | Colorodo: 06:39

अस्ट्रेलिया र न्युजिल्याण्डद्धारा विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध

बिआरटीनेपाल २०७६ चैत ६ गते ९:३३ मा प्रकाशित

संसारभर आतंक मच्चाइरहेको कोरोना भाइरसका कारण अस्ट्रेलिया र न्युजिल्याण्डले पनि आफ्ना देशमा विदेशी नागरिकलाई प्रवेश नदिने घोषणा गरेका छन् । देशमा कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि दुबै देशले विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएका हुन् ।

अष्ट्रेलियाले शुक्रवारदेखि विदेशी र गैरअवासीयहरुलाई आफ्नो देशभित्र प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार साँझ ९ बजेदेखि यो नियम लागु गरिने जानकारी दिनुभएको छ । यसका लागि न्युजिल्याण्डकी प्रधानमन्त्रीसँग पनि छलफल गरिएको र सँगै यात्रा प्रतिबन्धको निर्णय लिइएको पनि जानकारी उहाँले दिनुभयो । विदेशमा रहेका अस्ट्रेलियाली नागरिक स्वदेश फर्कन पाए पनि उनीहरु देशमा फर्किएपछि १४ दिन आइसोलेसनमा बस्नुपर्ने छ ।

अस्ट्रेलियामा बुधबार एकै दिन १११ जनामा नयाँ संक्रमण फेला परेको थियो । योसँगै संक्रमितको संख्या ५६५ पुगेको छ । यसमध्ये २५९ विदेशबाट आएकामा देखिएको जनाइएको छ । ५६५ मा ४६ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ।

उता, बिहीबार पत्रकार सम्मेलन गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा अर्डर्नले भन्नुभएको छ, ‘न्युजिल्याण्डका जनतालाई कोभिड–१९ को संक्रमणबाट बचाउनु हाम्रो सबैभन्दा पहिलो प्राथमिकता हो । विश्वका अन्य भागमा भाइरसको संक्रमण फैलिरहँदा हामीले हाम्रो सीमा नियन्त्रणमा सशक्त कदम लिनुपर्ने प्रष्ट भएको छ । आजको निर्णयले कुनै पनि पर्यटक वा अस्थायी भिसा लिएका विद्यार्थी वा कामदारलाई न्युजिल्याण्ड प्रवेशमा रोक लगाउने छ ।’

बिना भिसा आवतजावत गर्न पाउने प्यासिफक आइल्याण्ड र अस्ट्रेलियाका नागरिकमा पनि यो नियम लागु हुने बताइएको छ । न्युजिल्याण्डमा बुधबार मात्र ८ जना नयाँ संक्रमित फेला परेसँगै त्यहाँ २८ जना संक्रमित बनेका छन् । फेला परेका नयाँ संक्रमित सबै बाहिरबाट आएकाहरु भएको जानकारी दिइएको छ । दुबै देशको यो निर्णयले आफ्ना नागरिक, पीआर होल्डर र उनीहरुका आफन्तबाहेक सबै विदेशीलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू