अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३६ | Colorodo: 17:51

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार नाघ्यो

बिआरटीनेपाल २०७६ फागुन ३० गते ७:३७ मा प्रकाशित

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनको संख्या ५ हजार नाघेको छ। शुक्रबार साँझ सम्म संसारभर ५ हजार ८० जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला १ सय २९ देशमा फैलिसकेको छ। हालसम्म १ लाख ३७ हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

हालसम्म सबैभन्दा बढी चीनमा ३ हजार १ सय ७७ जनाको कोरोनाबाट ज्यान गएको छ। त्यसैगरी इटालीमा १ हजार १६, इरानमा ५ सय १४, दक्षिण कोरियामा ७१, स्पेनमा ९० र फ्रान्समा ५१ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन्। पछिल्लो समय कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाको संक्रमण दर उल्लेख्य मात्रामा घटेको छ। यससँगै चीन सरकारले कोरोनाको माहामारीबाट मुक्त भएको घोषणा गरिसकेको छ।

चीन कोरोनाको माहामारीबाट मुक्त भएको सन्देश दिन चिनियाँ राष्ट्रपति सी जिनफिङले मंगलबार कोरोनाबाट अति प्रभावित वुहान क्षेत्रको भ्रमण गर्नुभएको थियो । त्यस्तै दक्षिण कोरियामा पनि यसको प्रभाव कम हुन थालेको छ। चीन र दक्षिण कोरियामा कोरोनाको प्रभाव कम हुँदै गएपनि युरोपेली, अमेरिकी तथा अन्य एसियाली देशहरुमा भने यो तीब्र गतिमा फैलिरहेको छ।

चीनपछि कोरोनाबाट सबैभन्दा प्रभावित इटालीमा हालसम्म १५ हजार १ सय १३ जनामा संक्रमण भइसकेको छ भने १ हजार १६ जनाले ज्यान गुमाएका छन्। इटालीमा पछिल्लो २४ घण्टामा मात्रै १ सय ८९ जनाले ज्यान गुमाएका थिए। कोरोनाबाट जोगिन इटालीले पूरै देशलाई ‘लकडाउन’ गरेर ६ करोड नागरिकलाई सेल्फ क्यारेन्टाइनमा राखेको छ।

त्यसैगरी इरानमा ११ हजार ३ सय ६४, दक्षिण कोरियामा ७ हजार ९ सय ७९, स्पेनमा ३ हजार ८ सय ६९, जर्मनीमा ३ हजार ५९, फ्रान्समा २ हजार ८ सय ७६, संयुक्त राज्य अमेरिकामा १ हजार ७ सय ६२ जनामा कोरोनाको संक्रमण देखिएको छ। नेपालमा हालसम्म एक जनामा मात्रै कोरोनाको संक्रमणको पुष्टि भएको भएपनि छिमेकी देश भारतमा भने कोरोना संक्रमितको संख्या ७८ पुगिसकेको छ जसमध्ये १ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू