अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 18:01

भारतले लगायो यात्रामा प्रतिबन्ध, १५ अप्रिलसम्म सबै भिसा निलम्बन

बिआरटीनेपाल २०७६ फागुन २९ गते ८:४० मा प्रकाशित

भारत सरकारले कोरोना भाइरसको संक्रमण रोक्न एक महिनासम्म यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कोराना भाइरसको त्रासकै कारण भारत सरकारले १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको हो । भारतीय स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न भन्दै यो निर्णय लिएको हो ।

१५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लोइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अरु भिसा एक महिनाका लागि अर्थात् १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो । प्रवासी भारतीय नागरिकलाई दिइने भिसामुक्त यात्राको सुविधा पनि १५ अप्रिलसम्मका लागि रोकिएको छ । यो निर्णय १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुने जनाइएको छ ।

१५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने भारतीयसहित सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय पनि गरिएको छ । भारत सरकारले आफ्ना देशका नागरिकलाई अनावश्यक रुपमा विदेश भ्रमण नगर्न आग्रह पनि गरेको हो । भारतमा कोरोना संक्रमित व्यक्तिको संख्या ६० पुगेको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलन थालेपछि विश्व स्वास्थ्य संगठनले बुधबार विश्वव्यापी महामारी घोषणा गरेको छ । त्यसलगत्तै अमेरिकाले बेलायतबाहेक युरोपेली देशबाट अमेरिका प्रवेशका लागि प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू