अफगानिस्तानका राष्ट्रपति असरफ घानीले १५ सय तालिबानी कैदीलाई रिहा गर्न स्वीकृति दिनुभएको छ । फेब्रुअरी २९ मा संयुक्त राज्य अमेरिका र तालिबानी समूहबीचको शान्ति सम्झौता बमोजिम अफगानिस्तानमा शान्ति स्थापना गर्न लडाकुलाई रिहा गर्न स्वीकृति दिनुभएको हो ।
राष्ट्रपति घानीले रिहा गरिएका सम्पूर्ण तालिबानी कैदीले फेरि युद्धमा नफर्किने सुनिश्चितताका लागि लिखित पत्र दिनुपर्ने सर्त समेत राख्नुभएको छ । आफ्ना लडाकुको रिहाईको बदलामा तालिबानी कब्जामा रहेका एक हजार सरकारी अधिकारीलाई छोड्न तालिबानी पनि सहमत भएको छ । अमेरिका आफ्ना सैनिक फिर्ता लिन तयार भएपछि तालिबानी समूह अमेरिकासँगको सम्झौतामा आएको हो । राष्ट्रपति घानीले स्वीकृति प्रदान गरेसँगै पन्ध्र सय तालिबानी कैदीलाई आगामी १५ दिनसम्म रिहा गरिने भएको छ । जसमा हरेक दिन एक सय तालिबानी कैदीलाई छोडिनेछ ।
तालिबानी कैदीलाई रिहा गरेसँगै हरेक तालिबान–अफगान वार्ता पनि अघि बढ्ने भएको छ । अफगान सरकारको नियन्त्रणमा करिब पाँच हजार तालिबानी लडाकु छन् ।