अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 17:56

अफगानिस्तानमा दुईजनाले लिए राष्ट्रपतिको शपथ, राजनीतिक संकट चुँलिदै

बिआरटीनेपाल २०७६ फागुन २७ गते ८:२५ मा प्रकाशित

अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी र सरकारका प्रमुख कार्यकारी अब्दुलाह गरी दुवै जनाले राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन । घानीले सपथग्रहण गरेको घोषणा गरेकै बेलामा अब्दुलाहले पनि सपथग्रहण गरेको दाबी गरेका हुन् । घानीले राष्ट्रपति कार्यालयमै विशेष समारोहको आयोजना गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारी सम्हालेको घोषणा गर्नुभएको थियो ।

समारोहमा अमेरिकी विशेष प्रतिनिधि, अमेरिकी कार्यवाहक राजदूत, नेटो फौजका कमान्डर जनरल स्कट मिलरसँगै युरोपेली सङ्घ, क्यानडा अस्ट्रेलिया, डेनमार्क, जर्मनी र नर्वेका राजदूतहरु उपस्थित थिए ।

अर्कोतर्फ प्रमुख कार्यकारी अब्दुलाहले पनि राष्ट्रपतीय निर्वाचनमा आफू विजयी भएको दाबी गर्दै राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन् । घानीले गत फेब्रुअरीमै आफू दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।

दुबै नेताहरुले गत सेप्टेम्बरमा भएको निर्वाचनको परिणाम आफ्नो पक्षमा आएको दाबी गर्दै आएका छन् । दुवै नेताको आ–आफ्नै दाबीका कारण अफगानिस्तानको राजनीति थप सङ्कटमा पर्ने देखिएको छ । सपथग्रहण कार्यक्रम चलिरहेकै बेला राजधानी काबुलमा बम विस्फोटनका घटना पनि भएका छन् ।

लामो समयदेखि गृहयुद्धमा फसेको अफगानिस्तानमा केही दिनअगाडि तालिवान लडाकु र अमेरिकाबीच आंशिक शान्ति सम्झौता भएको थियो । तर पनि हिंसात्मक घटना नरोकिँदा अफगानिस्तानकोे राजनीतिले सकारात्मक मोड लिन सकेको छैन । अमेरिकासँगको सम्झौता अनुसार अबको चरणमा तालीवान समूह र अफगान सरकारबीच शान्तिवार्ता गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू