डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनोट गर्न भइरहेको पार्टीको चुनावमा म्यासाचुसेट्सकी सिनेटर एलिजाबेथ वारेनले पनि अपेक्षित नतिजा ल्याउन नसकेपछि उम्मेदवारी परित्याग गरेको घोषणा गर्नुभएको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट पछिल्लो चुनावी दौडमा उहाँएकमात्र महिला प्रतिनिधि हुनुहुन्थ्यो ।
अब डेमोक्रेटिक पार्टीभित्र सिनेटर बर्नी स्यान्डर्स र पूर्वउपराष्ट्रपति जो बाइडेनमात्र चुनावी प्रतिस्पर्धामा रहेका छन् । गत मंगलबार सम्पन्न चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेकामा दुःखी भएकी ७० वर्षीया सिनेटर वारेनले म्यासाचुसेट्स राज्यको क्याम्ब्रिजस्थित निवासमा संवाददाताहरुसँग राष्ट्रपतिका लागि चुनावी दौड स्थगित गरेको तर, प्रत्येक संघर्षशील व्यक्तिहरुको पक्षमा निरन्तर कार्य गर्ने बताउनुभएको थियो ।
तर, उहाँले राष्ट्रपतिको चुनावी दौडमा बाँकी रहेका दुई वयोवृद्ध व्यक्ति जो बाइडेन वा बर्नी स्यान्डर्समध्ये कसलाई समर्थन गर्ने भन्ने निर्णयमा पुगिनसकेको बताउनुभएको छ । एमएसएनबीसी टेलिभिजनलाई प्रतिक्रिया दिँदै सिनेटर वारेनले आफूले जो बाइडेनलाई अति सम्मान गर्ने तर उनीसँग धेरै विषयमा विमति रहेको उल्लेख गर्नुभयो ।