ओमनका सुल्तान काबुसको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका सुल्तानको उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्वास्थ्यमा समस्या आएपछि गत महिना सुल्तानलाई उपचारका लािग बेल्जियम लगिएको थियो ।
७९ वर्षिय सुल्तानको सन् २०१५ मा जर्मनीमा उपचार गरिएपछि क्यान्सर रोगबाट पीडित भएको समाचार सार्वजनिक भएको थियो । सन् १९७० मा बेलायतको सहयोगमा सुल्तानले आफ्ना बाबुलाई सत्ताच्यूत गराउनुभएको थियो । तेल बिक्री गरेर उहाँले ओमनलाई आर्थिक रुपमा सम्पन्न गराएको बताइएको छ ।
अविवाहित भएकाले सुल्तान काबुसले आफ्ना उत्तराधिकारी नियुक्ति नगरेको समाचारमा जनाइएको छ । सुल्तानको आधारभूत विधान अनुसार सिंहासन खाली भएको तीन दिनभित्र शाही परिवारका पुरुष सदस्यहरुबट नयाँ नेतृत्व चयन गर्नुपर्छ ।
पाँच दशक भन्दा लामो समय शासन गरेका सुल्तान काबुसले सुधारवादी नेताको छवी बनाएको समाचारमा जनाइएको छ । ओमनमा कुल जनसंख्याको ४३ प्रतिशत विदेशी रहेको बताइएको छ ।