अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०८ | Colorodo: 23:23

भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदो स्वदेश फिर्ता, विमानस्थलमा भब्य स्वागत

बिआरटीनेपाल २०७५ फागुन २१ गते ५:३४ मा प्रकाशित

अदालतले देश छोड्न लगाएको प्रतिबन्धको बेवास्ता गर्दै विदेश पुगेका भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति तथा विपक्षी नेता हुँवा गुइदो स्वदेश फर्किनुभएको छ । दक्षिण अमेरिकी देशहरुको केही दिनको भ्रमणपछि विपक्षी नेता गुइदो स्वदेश फर्किनुभएको हो । उहाँलाई काराकासमा हजारौं समर्थकले स्वागत गरेका छन् ।

भेनेजुएलाका अधिकारीले पक्राउ गर्न सक्ने सम्भावनाका बीच पनि गुइदो स्वदेश फर्किनुभएको हो । सीमापार जम्मा भइरहेको मानवीय सहायता भित्र्याउन भन्दै उहाँ १० दिनअघि देशबाट बाहिर निस्किनुभएको थियो । सो क्रममा गुईदो कोलम्बियामा आयोजित क्षेत्रीय नेता एवम् अमेरिकी उपराष्ट्रपति सहभागी एक बैठकमा समेत सहभागी हुनुभएको थियो ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरिनोसँग शनिबार भेटवार्ता गरेपछि गुइदो सलिनासबाट बन्दरगाह रहेको शहर गुयाक्वीलका हुँदै भेनेजुएलाको राजधानी काराकास पुग्नुभएको हो । काराकासस्थित साइमन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत गर्न अमेरिका र युरोपेली देशका कूटनीतिज्ञहरुसमेत पुगेका थिए ।

सडकमा हजारौं उत्साही समर्थकहरुलाई सम्बोधन गर्दै गुइदोले भेनेजुएलाका जनताले तर्सिनुपर्ने अवस्था अब अन्त्य भइसकेको बताउनुभयो । उहाँले राष्ट्रपति निकोलस मदुरोको आदेश पालन गर्न जनताले छाडिसकेको दाबी समेत गर्नुभएको छ । गुईदोले तत्काल राजीनामा दिन मदुरोसँग माग समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू