अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२४
| Colorodo: 11:39
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय वायुसेनाका पाइलटलाई रिहा गर्ने बताउनुभएको छ । संसदको संयुक्त सत्रलाई बिहीबार सम्बोधन गर्दै खानले उक्त कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री खानले यसलाई पाकिस्तानको कमजोरी नठान्न पनि भारतलाई चेतावनी दिनुभयो । “हामी यो भन्दा अघि कुनै द्वन्द्व चाहँदैनौं । यसबारे मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत कुरा गरेको छु । तर, यसलाई पाकिस्तानको कमजोरी नठान्न चेतावनी समेत दिन्छु ।”, खानले भन्नुभयो ।
पाकिस्तान र भारतीय वायु सेनाबीच नियन्त्रण रेखा नजिक भएका संघर्षका क्रममा पाकिस्तानले मिग २१ लडाकु जहाज खसाई पाइलट अभिनन्दनलाई आफ्नो नियन्त्रणमा लिएको थियो । यसअघि पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले पाइलटको रिहाईले भारतसँगको तनाव कम हुने भए आफु यो निर्णयमा विचार गर्न तयार रहेको बताउनुभएको थियो ।