अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२५ | Colorodo: 10:40

पाकिस्तानी क्षेत्रमा हमलापछि मोदी नेतृत्वमा उच्चस्तरीय बैठक

बिआरटीनेपाल २०७५ फागुन १४ गते ८:४३ मा प्रकाशित

भारतीय वायुसेनाले पाकिस्तानी क्षेत्रमा हमला गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा नयाँ दिल्लीमा उच्चस्तरीय बैठक बसेको छ । बैठकमा पाकिस्तानी क्षेत्रमा भारतीय सैन्य कारवाहीबारे छलफल भएको बताइएको छ ।

बैठकमा वरिष्ठ मन्त्रीहरु र राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाललगायत सहभागी थिए । हमलापछि पाकिस्तानी प्रतिक्रियाअनुसार आवश्यक रणनीति बनाउने भारतीय उच्च स्रोतलाई उद्धृत गर्दै विभिन्न संचारमाध्यमले जनाएका छन् ।

यसैबीच भारतीय विदेश सचिव विजय गोखलेले पाकिस्तानी क्षेत्रमा भारतीय वायुसेनाले सैन्य कारवाही गरेको पुष्टि गर्नुभएको छ । उहाँले पत्रकार सम्मेलन गरी भारतीय वायुसेनाले गरेको कारवाहीबारे जानकारी दिनुभएको हो । उहाँले भारतीय वायुसेनाले आतंकवादीलाई निशाना बनाएर हमला गरेको दावी गर्नुभयो ।

हमलामा सामान्य नागरिकको हताहती नहोस् भनेर निकै सावधानी अपनाइएको गोखलेको भनाई थियो । पाकिस्तानको बालाकोटमा भएको सो कारवाहीमा जैश–ए–मोहम्मद नामक आतंकवादी संगठनका कयौं सदस्य मारिएको उहाँले बताउनुभयो । उक्त संगठनले भारतमा आतंकवादी हमला बढाउँदै लगेका कारण जवाफी कारवाही गर्न अत्यावश्यक रहेको उहाँको तर्क थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू