अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०७ | Colorodo: 11:22

नाइजेरियामा सुरक्षा कारबाही– ५९ जना लुटेरा मारिए

बिआरटीनेपाल २०७५ फागुन १० गते ८:३६ मा प्रकाशित

सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताएका छन् । डानमार्क भन्ने अर्को गाउँमा पनि १५ जना लुटेरा मारिएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । उत्तर पश्चिम नाइजेरियाको बिग्रदो शान्ति सुरक्षाको अवस्थाले राष्ट्रपति मोहम्मदु बुहारीमाथि चुनौती बढेको छ । आगामी शनिबार नाइजेरियामा राष्ट्रपतिको चुनाव हुँदैछ । चुनाव अघि भएका यी घटनाले राष्ट्रपति बुहारीको पुनः निर्वाचनलाई कठिन बनाएको छ ।

राष्ट्रपति बुहारीको राम्रो पकड रहेको तथा खेतीपाती र पशुपालन मुख्य पेशा व्यवसाय भएका यस क्षेत्रका जनताले सुरक्षा फौजले आफ्नो सुरक्षामा पर्याप्त ध्यान नदिएको गुनासो गरिरहेका छन् ।सुरक्षा फौजले ध्यान नदिएका कारण लुटेराको हातबाट मर्नुभन्दा लड्नु नै उचित ठानेको स्थानिय बासिन्दाले बताएका छन् ।

डानीजिग्बा प्रदेश राजधानी गुसाउबाट करिब ३५ किलोमिटर दक्षिणमा रहेको छ । व्यापारिक केन्द्रका रुपमा रहेको डानिजिग्बामा पटकपटक आक्रमण हुने गरेको छ । आक्रमणका कारण धेरै मानिस अन्यत्र पलायन हुन बाध्य छन् । उनीहरु चाफे र काटसिना सहरतर्फ भाग्न विवश भएका छन् । यसै महिनाको शुरुमा पनि माडा जिल्लामा लुटेराहरुले २६ जना गाउँलेको हत्या गरेका थिए ।
गत जुलाईमा जामफारा राज्यमा पनि लुटेराहरुको आक्रमणबाट सन् २०१८ को छ महिनाको अवधिमा कम्तीमा तीनसय ७१ जनाको हत्या भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । गत डिसेम्बरमा एकजना स्थानीय नेताले आत्मरक्षाका लागि स्थानीयबासीलाई सरकारले नै बन्दुक राख्न अनुमतिका लागि आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू