अमेरिकामा डेमोक्र्याट्स तथा रिपब्लिकन नेताहरूबीच सीमा सुरक्षाका विषयमा सैद्धान्तिक सहमति भएपछि अर्को ‘खर्चबन्दी’ तत्कालका लागि टरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन करिब ६ अर्ब डलर रकम नपाएपनि खर्चबन्दी अन्त्य गर्न सहमत हुनुहभएको हो ।
उहाँले कुनैपनि हालतमा पर्खाल निर्माण गरेरै छाड्ने दृढता भने व्यक्त गर्नुभएको छ । सहमतिलाई कांग्रेसले स्वीकृति दिन बाँकी छ । शुक्रबारको बैठकमा कांग्रेसले स्वीकृति प्रदान गर्ने विश्वास गरिएको छ । वासिङटनमा डेमोक्र्याट्स र रिपब्लिकन नेताहरूबीचको छलफलपछि सहमति जुटेको हो ।
रिपब्लिकन सिनेटनर रिच्ड शेल्बीले सबै मतभेदहरू हल भएको बताउनुभएको छ । सहमतिसँगै अर्को अस्थायी खर्चबन्दी हुने र संघीय निकायहरू खर्चविहीन हुने अवस्था तत्कालका लागि टरेको छ । सहमतिका बुँदाहरू भने सार्वजनिक भइसकेका छैनन् ।
यसअघिको सरकारी खर्चबन्दी अमेरिकी इतिहासमै सबैभन्दा लामो ३५ दिनसम्म लम्बिएको थियो । जसका कारण अमेरिकी अर्थतन्त्रमा ११ अर्ब डलर घाटा भएको अनुमान छ ।