अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

विश्व बैंकको नयाँ अध्यक्षमा डेभिड माल्पास सिफारिस

बिआरटीनेपाल २०७५ माघ २४ गते ५:१९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस गर्नुभएको छ । विश्व बैंकको कार्यशैलीमाथि तिखो टिप्पणी गर्दै आउनुभएका माल्पासलाई नै राष्ट्रपति ट्रम्पले नियुक्तिका लागि सिफारिस गर्नुभएको हो ।

अमेरिकी अर्थ विभागका वरिष्ठ अधिकारी माल्पासको छनौट विवादास्पद मानिएको छ, तर बैंकका बहुसंख्यक शेयरहोल्डरहरु, खासगरी युरोपेली मुलुकहरुको समर्थन प्राप्त गर्न राष्ट्रपति ट्रम्प सफल हुनुभयो भने बैंकलाई नयाँ स्वरुपमा ढाल्न ट्रम्पलाई एउटा मौका हुनेछ ।

नाम सार्वजनिक गर्नेक्रममा ह्वाइट हाउसमा आयोजित समारोहमा राष्ट्रपति ट्रम्पले माल्पासलाई विलक्षण प्रतिभाका धनी व्यक्ति भन्दै जिम्मेवारी लिनसक्ने उपयुक्त पात्र भनि प्रसंशा गर्नुभएको थियो । उहाँले आफ्नो प्रशासनले अमेरिकी करदाताले तिरेको पैसा प्रभावकारी र बुद्धिमत्तापूर्वक तरिकाबाट खर्च भएको सुनिश्चित गर्न उच्च प्राथमिकता दिने प्रस्ट समेत पार्नुभयो । राष्ट्रपति ट्रम्प र उहाँको ह्वाइट हाउस प्रशासनले कार्यभार सम्हालेको दुई वर्षदेखि बहुराष्ट्रिय संस्थाहरुमाथि निरन्तर आलोचना गरिरहेका छन् ।

माल्पासले विश्व बैंक र अन्तर्रा्ष्ट्रिय मुद्रा कोषमाथि आक्रमणको नेतृत्व नै गरिरहनुभएको छ । माल्पासले अन्तर्रा्ष्ट्रिय वित्तीय संस्थाहरुको ऋण प्रवाह अभ्यास भ्रष्ट रहेको बताउँदै चीन र तुलनात्मक रुपमा सम्पन्न मुलुकमा समेत लगानी गरिरहेकामा आपत्ति जनाउनुभएको हो ।

ह्वाइट हाउसमा आयोजित समारोहमा बोल्दै माल्पासले गत वर्ष स्वीकृत सुधारका योजनाको कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो । उहाँले बैंकको लगानीयोग्य रकमलाई १३ अर्ब डलरले वृद्धि गरिने पनि बताउनुभएको छ । माल्पासले उच्च आय भएका चीनजस्ता मुलुकलाई प्रदान गरिने ऋणमा कडाई गर्ने तथा त्यस्ता मुलुकमा ऋण प्रवाह गर्दा बढी व्याजदरमा मात्र दिइने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय