अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२९ | Colorodo: 11:44

अमेरिका–उत्तर कोरियाबीचको दोस्रो शिखर बैठक फेब्रुअरीको अन्तिम साता भियतनाममा हुने

बिआरटीनेपाल २०७५ माघ २३ गते ३:१८ मा प्रकाशित

अमेरिका र उत्तर कोरियाबीचको दोस्रो शिखर वार्ता फेबु्रअरी महिनाको अन्तिम साता भियतनाममा हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग फेब्रुअरीका २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गर्नुभएको हो । दुबै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो ।

भियतनाम बैठकमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम त्याग्नका लागि उत्तर कोरियाली नेतालाई सहमत गराउन विशेष पहल गर्ने बताईएको छ । अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले गत वर्ष सिंगापुरमा भएको पहिलो वार्ताले शान्तिका लागि बाटो खोलेको बताउनुभयो । तर आणविक निःशस्त्रीकरण कसरी सम्पन्न हुन्छ भन्नेमा अझैसम्म ठोस कार्यक्रम र रुपरेखा हालसम्म तय भइसकेको छैन ।

भियतनाममा हुने दुई दिने शिखर बैठकको स्थान भने घोषणा गरिएको छैन । भियतनाममा कम्युनिष्ट शासन रहे पनि आर्थिक उदारवाद र स्वतन्त्र व्यापार नीतिका कारण भियतनामले पछिल्लो केहीवर्षदेखि उच्च दरको आर्थिक विकास गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू