अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५६ | Colorodo: 12:11

चिनियाँँ कम्पनीमाथि सुरक्षा निगरानी बढाउन जर्मन चान्सलर मर्केलको आग्रह

बिआरटीनेपाल २०७५ माघ २२ गते ५:०१ मा प्रकाशित

जर्मन चान्लसर एन्जेला मर्केलले व्यक्तिका गोपनीय एवं निजी विवरणहरु चिनियाँ कम्पनीमार्फत चीन सरकारलाई उपलब्ध हुन नदिनेतर्फ विशेष निगरानी अपनाउनुपर्ने बताउनुभएको छ । चिनियाँ विशाल प्रविधि कम्पनी हुवावेले बनाएका उपकरणबाट सुरक्षा चुनौती बढेको भन्दै अमेरिकासमेतका पश्चिमा मुलुकबाट चौतर्फी आलोचना भइरहेको समयमा मर्केलको उक्त भनाइ आएको हो ।

टोकियोको कायो विश्वविद्यालयमा मंगलबार आयोजित समारोहमा सम्बोधन गर्दै चान्सलर मर्केलले हुवावेका उपकरण प्रयोग गर्ने बारेमा जर्मनीमा ठूलो बहस चलिरहेको बताउनुभयो । उहाँले पाँचौं पुस्ताको दूरसञ्चार सञ्जाल (५जी) निर्माण गरिरहेको हुवावेको सेवाका विषयमा चलिरहेको विश्वव्यापी बहसले सर्वत्र शङ्का उब्जाएको पनि उल्लेख गर्नुभएको छ ।

जर्मनीले अझै पनि विवेकी अवधारणा अबलम्बन गरिरहेको छ । जर्मनीको सूचना प्रविधि निगरानी निकायले हुवावेले बेइजिङका लागि जासुसी गर्न आफ्ना उपकरण प्रयोग गरेको भन्ने ठोस प्रमाण नपाइएको जनाएको छ । तर मर्केलले हुवावेमा सङ्ग्रह हुन सक्ने विवरणहरु चीन सरकारलाई उपलब्ध नगराएको सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले कम्पनीका विवरणहरु सरकारी निकायले प्राप्त नगरेको निश्चित गर्न उपयुक्त विधिहरु निर्माण गर्न आवश्यक रहेको ठहर गर्नुभयो ।

हुवावे अहिले दूरसञ्चार उपकरण र मोबाइल नेटवर्क निर्माणमा विश्वकै ठूलो दूरसञ्चार कम्पनी भइसकेको छ । खासगरी हुवावेका उपकरणहरु विकासशील मुलुकहरुमा बढी बिक्री भएका छन् । कम्पनीले सस्तोमा दूरसञ्चार नेटवर्कका सामग्री उपलब्ध गराउने भएकाले पनि विकासशील मुलुकमा हुवावेको बजार तीव्र रुपमा विस्तार भएको हो ।

तर पश्चिमा धेरै मुलुकहरु सुरक्षा खतरालाई लिएर हुवावेका विरुद्धमा उभिएका छन् । खासगरी, चीनको कानुनमा रहेको मुलुकभित्रका सबै कम्पनीले गुप्तचर निकायलाई सहयोग गर्नुपर्ने अनिवार्य प्रावधानका कारण पश्चिमा मुलुकहरु हुवावेको सेवाप्रति सशंकित भएका हुन् । हुवावेले आफ्ना उपकरण जासुसी कार्यहरुमा प्रयोग गर्न नसकिने भन्दै पश्चिमा मुलुकको दाबीलाई अस्वीकार गरिरहेको छ ।

जर्मन चान्सलर मर्केल हाल जापानको दुई दिने भ्रमणमा हुनुहुन्छ । उहाँले यसअघि नै जापानका प्रधानमन्त्री शिन्जो आबे र जापानी सम्राट अकिहितोसँग भेटवार्ता गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू