अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 00:00

अमेरिका र अफगानिस्तानका तालिवान विद्रोहीबीचको वार्ता सकारात्मक

बिआरटीनेपाल २०७५ माघ १३ गते ८:४१ मा प्रकाशित

अमेरिका र अफगानिस्तानको तालिवान विद्रोहीबीच भएको शान्ति वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ । अफगानिस्तानमा १७ वर्षदेखिको संघर्ष अन्त्य गर्ने विषयमा वार्तामा महत्वपूर्ण प्रगति भएको अमेरिकाले जनाएको छ ।

अमेरिकी प्रतिनिधि जलमय खलिलजादले यस पटकको वार्तापछि संघर्ष अन्त्य हुने सम्भावना रहेको बताउनुभयो । उहाँले वार्तामा भएका विषयहरुबारे सबै जानकारी नदिए पनि वार्ता सकारात्मक दिशातर्फ अघि बढेको बताउनुभयो ।

कतारमा भएको ६ दिने वार्तामा यसअघि कहिल्यै नभएको प्रगति भएको उहाँको भनाइ थियो । वार्ता सकारात्मक भएकाले अफगानिस्तानको शान्ति प्रक्रिया चाँडै पूरा हुने विश्वास अमेरिकी प्रतिनिधिले व्यक्त गरेका छन् ।

वार्तामा अफगानिस्तानबाट विदेशी सेना फिर्ता गर्ने, अलकायदा र इस्लामिक स्टेट समूहको अखडा अफगानिस्तानमा बनाउन नदिने सहमति भएको स्रोतहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर अमेरिकी प्रतिनिधि खलिलजादले भने तालिवानसँग वार्ता जारी रहने र अहिलेसम्म कुनै पनि विषयमा निर्णय भने भइ नसकेको बताउनुभयो ।

अफगानी अधिकारीहरुसँग सिधै वार्ता गर्न अस्वीकार गर्दै आएको तालीवानी बिद्रोहीले अमेरिकी अधिकारीहरुसँग भने वार्ता गरेको हो । अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक फिर्ता हुने समय तय गरेको खण्डमा मात्रै तालीवानी बिद्रोहीले अफगान सरकारसँग वार्ता गर्ने निर्णय गरेको तालीवानी नेताहरुले बताएका छन् ।अफगानिस्तानका राष्ट्रपति असरफ घानीले भने तालिवानी समूह युद्धविराम गरेर देशको संविधानलाई मान्यता दिन तयार भए उसलाई राजनीतिक दलको मान्यता दिने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू