अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३६ | Colorodo: 08:51

फिलिपिन्सको एक चर्चमा विस्फोट, २७ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ माघ १३ गते ८:२७ मा प्रकाशित

फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ । फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुई ओटा विस्फोटन भएको जानकारी दिएका छन् ।

प्रहरी प्रमुख ओस्कार अल्बायाल्डेका अनुसार मृत्यु भएकामध्ये अधिकांश फिलिसिन्सका सैनिक छन् । उनले विस्फोटनमा परी अरु ७७ जना घाइते भएका र उनीहरुको उपचार भइरहेको जनाएका छन् । दुवै विस्फोट स्थानीय समयअनुसार विहान करिब ८ः१५ बजेतिर दक्षिणी क्षेत्रको जोलो चर्चमा भएको बताइएको छ । उक्त चर्चमा एउटा बम बाहिर र अर्को चर्चभित्र गरी एक मिनेटको फरकमा ती २ ओटा बम विस्फोट भएको अल्बायाल्डेले जानकारी दिनुभयो ।

यस दुर्घटनामा परेकाहरुमा अधिकांश नियमित रुपमा चर्च जाने गरेकाहरु रहेको पनि प्रहरीले जानकारी दिएको छ । ‘चर्चमा प्रार्थनाका बेला भएको विस्फोटनको हामी घोर भर्त्ना गर्दछौँ, सैन्य अधिकारीहरु र आम नागरिक मारिएका र घाइते भएका छन्, त्यो निकै दुःखद् छ,’ फिलिपिन्सका रक्षा सचिव डल्फीन लोरेन्जानले भन्नुभएको छ । उहाँले घटनाका पीडितहरुलाई तत्काल राहत तथा उद्धारका लागि सहयोग गर्न पनि निर्देशन दिइएको बताउनुभयो । घाइतेमध्ये केहीको अवस्था चिन्तजनक रहेको र घटनाको विवरण सङ्कलन भइरहेकोले मृत्यु हुनेहरुको संख्या अझै बढ्नसक्ने अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू