वासिङ्टन डिसी, मेरिल्याण्ड तथा पेनसेल्भेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदुत तथा वरिष्ठ लोक गायक प्रेम राजा महतले सामाजिक अभियन्ता महावीर पुनलाई हरेक महिना १० हजार नेपाली रुपैयाँ दिने घोषणा गर्नु भएको छ । वहाँले उक्त घोषणा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरबाट गर्नु भएको हो ।
महतले आफ्नी कान्छी सुपुत्री सदीक्षा महत भण्डारीको जन्म दिनको सुखद उपलक्ष्यमा पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रति महिना दश हजार दिने घोषणा गर्नु भएको हो । कान्छी सुपुत्रीको जन्म दिन जनवरी १२ तारिख अर्थात् पौष २८ गते पर्दछ ।
साथै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सेरोफेरोमा दश हजार रुपैयाँ निरन्तर दिने घोषणाको साथै देश विदेशमा छरिएर विभिन्न किसिमका व्यवसाय उद्योग गरेर बस्नु हुने सम्पूर्ण राष्ट्रप्रेमी र देशभक्त नेपालीलाई प्रति महिना १० हजार नेरु प्रदान गर्न आव्हान गर्नु भएको छ ।
महाबाणिज्यदुत महतले महावीरद्वारा सञ्चालनमा रहेको राष्ट्रिय आविष्कार केन्द्र हाल बामे सर्ने अवस्थामा रहेको र यसलाई बचाउनु जरुरी छ भन्नु भएको छ । महतले बाल्य अवस्थाको केन्द्रलाई हुर्काउन सकियो भने मात्र करिब दुई दशकमा नेपाल आर्थिक रूपमा समृद्ध हुने वातावरण बन्नेछ भनी सबैलाई यस महान् महत्वाकांक्षी परियोजनाको लागि सक्रिय सहभागिता जनाउन व्यवसायीहरूलाई यसै बाट अनुरोध गर्नु भएको छ ।
साथै यो अभियानलाई महतले ऐतिहासिक पात्र विशेष नगर्चीको रूपमा बढाउने घोषणा गर्नु भएको छ । आव्हान साथै सम्पूर्ण नेपाली व्यवसायी तथा उद्यमीहरूलाई पनि होस्टेमा हैँसे तथा साथ दिन अनुरोध गर्नु भएको छ ।