भारत, मुसलमान समुदायको उपवाससहितको एक महिने रमजान पर्व बिहीबारदेखि सुरु भएको छ । भारतसहित संसारभरका मुस्लिम धर्मावलम्बीहरूले एक महिने व्रत सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
व्रतका बेलामा मुस्लिम धर्मावलम्बीहरूले मस्जिदमा भेला भएर कुरान वाचन गर्ने तथा प्राथना गर्ने गर्दछन् । सामान्य तरिकाले भन्दा बढी ध्यान दिएर विशेष प्रार्थना गर्नेहरूले यो महिनाभरि विशेष तरिकाले व्रत तथा प्रार्थना गर्दछन् । यो पर्व र व्रतलाई संसारभरका मुस्लिम धर्मावलम्बीहरूले उच्च महत्त्वका साथ मनाउने गर्दछन् ।
रमजान अवधिभर उनीहरू सुर्यअस्त नहुदासम्म खाना खाने, पानी पिउने, वैवाहिक कार्यक्रमहरू गर्ने गर्दैनन् । सुर्यअस्त भएपछि भने व्रतालुहरूले खाना र पानी आफूहरूले पनि खाने र आफ्नो परिवार तथा इष्टमित्रहरूलाई वितरण गर्ने गर्दछन् । इस्लामिक पात्रो अनुसार रमजान नवौँ महिनामा पर्दछ । यस वर्ष साउदी अरब र मध्यपूर्वी देशहरूमा बिहीबारदेखि उपवास सुरु भएको छ । बुधवार मात्रै भारतको केन्द्रीय सरकारले रमजानको अवधिभरका लागि भारत नियन्त्रीत काश्मिरमा युद्धविरामको घोषणा गरेको थियो ।