अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 09:00

धर्मगुरु आशाराम बलात्कार काण्डमा दोषी ठहर, १० वर्षको जेल सजाय

बिआरटीनेपाल २०७५ वैशाख १२ गते ११:२३ मा प्रकाशित

जोधपुर, भारत, उत्तरी भारतको एउटा विशेष अदालतले धर्मगुरु आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।  विशेष अदालतका न्यायाधीस मधुसुधन शर्माले ७७ वर्षीय धर्मगुरु आशाराममाथि करिब पाँचबर्ष पहिले उहाँकै अनुयायी परिवारकी एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपबारे विचाराधीन रहेको मुद्दाको फैसला बुधवार सुनाउनु भएको हो ।

ख्यातिप्राप्त एक धर्मगुरु गुरमितराम रहिमलाई भारतीय अदालतले यौनहिंसामा सम्लग्न रहेको भनी दिएको फैसलाको एक वर्ष नपुग्दै भारतीय अर्को अदालतले आशारामलाई पनि दोषी ठहर गरेको छ ।
आशारामसँगै उक्त मुद्दामा आरोपित चार जनामध्ये दुई सहयोगी सिल्पी र शरदलाई पनि उक्त घटनामा अदालतले दोषी ठहर गरेको छ भने अन्य दुईजना प्रकाश र शिवलाई निर्दोष भनी सफाइ दिएको छ ।

विशेष अदालतको फैसला अनुसार आशारामले न्यूनतम १० वर्षको जेल सजाय भोग्नुपर्नेछ ।  साबरमती नदी किनारमा एउटा कुटीबाट आफ्नो धार्मिक अभियानलाई सुरु गरेका आशारामका विश्वभर ४०० आश्रम र करिब दश हजार करोड धार्मिक अनुयायी रहेको आशाराममार्गीहरूको दाबी छ ।

यसैबिच अदालतमा हिंसात्मक प्रदर्शन हुनसक्ने आशङ्का गर्दै न्यायाधीशले लगभग पाँच वर्षदेखि आशारामलाई बन्दी अवस्थामा राखिएको एउटा जेलमा उक्त फैसला सुनाएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  एउटा सुरक्षा कारबाहीपछि सन् २०१३ मा उहाँलाई गिरफ्तार गरिएको थियो । उक्त समयमा सो नाटकीय घटनाक्रमलाई अविश्वास गर्दै उहाँका समर्थकले प्रदर्शनहरू गरेका थिए ।  पीडित बालिकाको परिवारको आशारामप्रति ठुलो भक्ति रहेको र उनले आशारामले सञ्चालन गर्ने आवासीय विद्यालयमा पढ्ने गर्थिन् । पिटीआई

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू