अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१० | Colorodo: 11:25

अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप

बिआरटीनेपाल २०७५ वैशाख ३ गते ७:३७ मा प्रकाशित

तेहरान, इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध भएको प्रमाणित भएको आरोप लगाउनुभएको छ । हसनले उक्त दाबी गर्नुभएको तास्निम समाचार समितिले सोमबार जानकारी दिएको छ ।

अमेरिकनले पूर्वी गुटाबाट आतङ्ककारी हटाएकोले उनीहरुको अमेरिकासँग सम्बन्ध रहेको देखिन आएको राष्ट्रपति रोउहानीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा बताउनुभएको छ । अमेरिकाले हाल सिरियामा गरेको आक्रमण अन्तरराष्ट्रिय कानूनको विपरीत भएको र अमेरिका अन्तरराष्ट्रिय जगतलाई जवाफ दिन सक्षम नदेखिएको रोउहानीले बताउनुभएको छ ।

पश्चिमा राष्ट्रले सिरियामा थप क्षेप्यास्त्र आक्रमणमा गरेमा अन्तरराष्ट्रिय सम्बन्धमा नै उथलपुथल हुने रुसका राष्ट्रपति पुटिनले बताउनु तेहरान टाइम्सले जनाएको छ । सिरियाले रासायनिक अस्त्र निर्माण गर्ने गरेको भनिएका क्षेत्रमा अमेरिका, बेलायत र फ्रान्सले शनिबार क्षेप्यास्त्र हमला गरेका थिए । यो हमला अहिलेका लागि पूरा भएको अमेरिकाले बताएको छ । अमेरिकाले सिरियाले पछिल्ला केही समययता रासायनिक हतियारको निर्माण गरी त्यसबाट आक्रमण गर्ने गरेको जनाएको छ ।

यसबाट हजारौँ नागरिक मारिएको भन्दै त्यसैको विरुद्धमा आक्रमण लक्षित रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको थियो । अमेरिकी नेतृत्वमा भएको सो हमलाको रुस र इरानले प्रत्यक्षरुपमा नै विरोध गरेका छन् । उनीहरुले अमेरिकी नेतृत्वका देशले गरेको सो हमला अन्तरराष्ट्रिय कानुन विपरीत भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू