अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

कथाकार गोपी मैनालीको कथा ‘विशृङ्खलित सपना’ लोकार्पित

बिआरटीनेपाल २०८१ साउन १२ गते २३:५८ मा प्रकाशित

काठमान्डौ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति वैरागी काइन्दाबाट शनिवार अनामनगर काठमाडौँमा आयोजित एक भव्य समारोहमा कथाकार गोपी मैनालीको कथासंग्रह विशृंखलित सपनाको लोकार्पण गर्नु भयो । कार्यक्रममा साहित्यकार र प्रशासकहरूको बाक्लो उपस्थिति थियो ।

मैनालीको कथासङ्ग्रह लोकार्पण गर्दै प्राज्ञ काइँलाले वरिष्ठ समालोचक एवम् निबन्धकारबाट स्तरीय कथा नेपाली वाङ्मयमा प्राप्त भएकोमा कथाकारलाई बधाई दिँदै समाजका विषयबस्तुुलाई सरल ढङ्गबाट प्रस्तुत गर्नुभएको बताउँदै आउँदा दिनमा अझै गहकिला कथा प्राप्त होस भन्ने शुभकामना दिनु भयो । गुरुप्रसाद मैनालीपछि अर्को मैनालीले त्यही स्तरको कथा दिएकोमा उहाँबाट प्रसन्नता व्यक्त भएको थियो ।

कृतिमाथि समालोचक प्रा डा लेखप्रसाद निरौलाले समीक्षा गर्दै शब्द, संरचना, प्रस्तुति र कथावस्तुका आधारमा मैनालीका कथा निकै उच्च कोटीको भएको विचार व्यक्त गर्दै प्रत्येक कथा मानवीय संवेदना र अनुभूतिको विशिष्ट प्रस्तुति रहेको भन्नुभयो । आफूले मैनालीको समालोचनाको कृति समीक्षा गरेको प्रसङ्ग उल्लेख गर्दे मैनालीका अभिव्यक्ति परिष्कृत घनत्वतर्फ रहेको भन्दै कथाको शीर्षकगत विश्वेचना गर्नु भयो । अर्का समीक्षक अनिता कोइरालाले कथा मानवीय संवेदना, मनोविज्ञान, सामाजिक परिवेश, माया, वात्सल्यका आधारमा निकै उच्च श्रेणीको भएको विचार व्यक्त गर्नु भयो ।

संवैधानिक निकायका पूर्व प्रमुख तथा प्रशासकहरूका तर्फबाट पूर्व महालेखा परीक्षक टंकमणि शर्माले इमानदारिता र सदाचारिताका उदाहरणीय पूर्व प्रशासकबाट यति राम्रा कथा सिर्जना भएकोमा बधाई दिँदै सबै पूर्व प्रशासकहरूलाई आफूले भोगे देखेको कुरा लेखेर राष्ट्रसेवक गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा वरिष्ठ कथाकार विजय चालिसेले आफू मैनालस्का सबै विधाका सबै रचनाको पाठक भएको बताउँदै उनका प्रस्तुतिमा नवीनता र विशिष्ट अभिव्यक्ति रहेको पाएको उल्लेख गर्नु भयो । मैनालीका कथामा पनि उनको निबन्धकीय व्यक्तित्वको छाप रहेको प्रसङ्ग पनि उल्लेख गर्नुभयो । प्राज्ञ दिनेशराज पन्तले पनि मैनालीका कथा प्रवृत्तिका विविध कोणबाट प्रकाश पार्दै गुरुप्रसाद मैनालीपछि अर्का जाजल्व कथा प्रतिभा पाएको उल्लेख गर्नु भयो । प्रशासनको उच्च तहमा रहेर गरेको उदाहरणीय प्रस्तुति र निष्ठा साहित्यमा पनि देखिएको उल्लेख गर्नुभयो ।

कलाकारका तर्फबाट नायक सरोज खनालले राम्रा कथा लेखेर चलचित्र र नाटकको स्तर उकास्न मैनालीजस्तै अरूले पनि योगदान दिन अनुरोध गर्नुभयो । साहित्य प्रतिष्ठानहरूका तर्फबाट सुरभि साहित्य प्रतिष्ठानका संरक्षक वेदमणि घिमिरे, समस्त साहित्यिक पत्रकारका तर्फबाट साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका तर्फबाट राजेन्द्र केसीले शुभकामना दिनु भएको कार्यक्रममा कथाकार गोपी मैनालीले समाजमा रहेका पात्रहरूलाई उठाएर आफ्नै समय, समाज र पात्रहरूको अनुभूतिमा कथा लेखेको उल्लेख गर्नु भएको थियो । परिवारका तर्फबाट लेखकका दाजु एवम् लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीले आफ्नो परिवारका विषयमा बोल्न असजिलो हुन्छ भन्ने दार्शनिक र साहित्यिक सन्दर्भको उल्लेख गर्दै आफ्ना भाइ, सन्तानहरूले जति राम्रो गरे पनि अरू राम्रो गरुन भनेर अगिल्तिर प्रशंसा गर्न नहुने कुरा उल्लेख गर्नु भयो । अध्यक्षताको आसनबाट सुरभि साहित्य प्रतिस्ठानका अध्यक्ष वरिष्ठ आख्यानकार बाजुराम पौडेलले मन्तव्य दिँदै नेपाली निबन्धमा लक्ष्मीप्रसाद देवकोटा र शंकर लामिछानेपछि शीर्ष स्थान लिएका मैनालीले कथा क्षेत्रमा पनि अलग्गै पहिचान दिएको उल्लेख गर्नु भएको थियो । कार्यक्रम सञ्चालन सुरभि साहित्य प्रतिष्ठानका सचिव अच्युत घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा संवैधानिक निकायका पूर्व प्रमुखहरू, पूर्व गभर्नरहरू, पूर्व प्रहरी प्रमुखहरू, समाजसेवीहरू, पत्रकारहरू, पुरानो पुस्ता, चालिसको दशकबाट साहित्यमा कलम चलाउने पुस्ता र नवीन पुस्ताका सर्जकहरू, पत्रकारहरू, गीतकारहरू, चलचित्रकर्मीहरू र साहित्यानुरागीको ठुलो उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू