अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 00:34

वासु स्मृति परिषदबाट मुखिया, वैद्य र पहाडी सम्मानित

बिआरटीनेपाल २०८१ चैत १४ गते १२:३८ मा प्रकाशित

काठमाडौँ । वासु स्मृति परिषद्ले हिजो वरिष्ठ नाटककार मनबहादुर मुखिया, कविहरू विमल वैद्य र सन्ध्या पहाडीलाई सम्मानित र पुरस्कृत गर्‍यो । नेपाली साहित्यका प्रसिद्ध साहित्यकार वासु शशीको ८९ औँ जन्म जयन्तीको अवसर पारेर डालो रेस्टुरेन्ट, अनामनगरमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि चलचित्र निर्देशक एवं वरिष्ठ साहित्यकार यादव खरेलले वरिष्ठ नाटककार मनबहादुर मुखियालाई ‘वासु शशी साहित्य सम्मान २०८१” बाट सम्मानित गर्नु भयो ।

यसै गरी चालीस दशकका कवि विमल वैद्यलाई ‘वासु शशी साहित्य पुरस्कार २०८१’ बाट नगद पच्चीस हजार सहित पुरस्कृत गर्नु भयो । यसै गरी पचास दशककी कवि सन्ध्या पहाडीलाई ‘कृष्ण-सरस्वती साहित्य पुरस्कार २०८१’ बाट नगद नगद पच्चीस हजार सहित पुरस्कृत गर्नु भयो । वासु स्मृति परिषद्की उपाध्यक्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकको सभापतित्वमा आयोजित सो कार्यक्रममा परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा चलचित्र निर्देशक एवं सर्जक प्रकाश सायमीले सम्मानित र पुरस्कृत सर्जकहरूबारे आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सम्मानित र पुरस्कृतहरू मुखिया, वैद्य र पहाडीले पनि आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण परिषद्का सदस्य यादव भट्टराईले गर्नु भएको थियो ।

वासु स्मृति परिषद्का अध्यक्ष गणेश रसिक हाल गम्भीर बिरामीका कारण कार्यक्रममा अनुपस्थित रहनु भएको थियो । कार्यक्रममा कृष्ण – सरस्वती साहित्य पुरस्कारकी संरक्षक श्रीमती सरस्वती जोशी, परिषद्का सल्लाहकार राधेश्याम लेकालीलगायत साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

वासु शशी साहित्य पुरस्कारबाट यसअघि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्व विमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, शैलेन्दुप्रकाश नेपाल, इन्दिरा प्रसाईँ, राधेश्याम लेकाली, माेमिला जोशी, श्यामल र प्रतिसरा सायमी पुरस्कृत भइसक्नु भएको छ ।

यसै गरी वासु शशी स्मृति सम्मानबाट वरिष्ठ साहित्यकारहरु तीर्थराज वन्त, डा. मोहन हिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीता केशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागीरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भोजपुरे र किरण खरेल सम्मानित भइसक्नु भएको छ ।

प्रतिक्रिया