अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 22:59

पेरिस ओलम्पिकको भव्य उद्घाटन

बिआरटीनेपाल २०८१ साउन १२ गते ५:२९ मा प्रकाशित

पेरिसमा ३३ औं गृष्मकालीन ओलम्पिकमा औपचारिका रूपमा शुभारम्भ भएको छ।गएराति ११;४५ बजे फ्रान्सको राजधानी पेरिसमा ओलम्पिकको भव्य उद्घाटन भएको छ। केही खेलहरू बुधबारदेखि नै भएपनि औपचारिक उद्घाटन भने शुक्रबार राति भएको हो। यसपालिको पेरिस ओलम्पिकको उद्घाटन पृथक एवम् भव्य रह्यो।पृथक यसकारण कि यसअघिका संस्करणहरूमा कुनै स्टेडियममा हुने उद्घाटन समारोह यसपालि बीच सहरको सेन नदी किनारमा भएको थियो। पुल, नदी किनार तथा घरका छतहरूमा उद्घाटन समारोहका प्रस्तुतीहरू भएका थिए। उद्घाटन समारोहलाई अद्भूत र ऐतिहासिक भनिएको छ। उद्घाटन समारोह चार घन्टासम्म चलेको थियो। विभिन्न देशबाट विभिन्न विधाका खेलका लागि ६ हजार ८०० खेलाडी सहभागी छन्। प्रत्येक देशका प्रतिनिधिमण्डललाई ८० भन्दा बढी डुंगामार्फत परेड गराइएको थियो।

गएराति ११स्४५ बजे पेरिसमा भएको उद्घाटन समारोहमा विभिन्न विश्वप्रसिद्ध कलाकारहरूले प्रस्तुती दिएका थिए। ओलम्पिकमा २०६ ओलम्पिक राष्ट्रिय टिमको सहभागिता रहनेछ। यसमध्ये एशियाका ४४ वटा देशहरुले भाग लिदैछन्। ओलम्पिकमा शरणार्थी टिमको समेत सहभागिता रहनेछ। नेपालले सन् १९६४ देखि ओलम्पिकमा भाग लिन सुरु गरेको थियो। पेरिस ओलम्पिकमा विभिन्न ३२ वटा खेलका ३२९ वटा इभेण्टस् सञ्चालन हुँदैछन्।

ओलम्पिकमा भाग लिन नेपाली खेल टोली पनि राजधानी पेरिस पुगिसकेको छ। यसपालि एक नेपाली खेलाडी छनोट प्रतियोगिता जितेर ओलम्पिकमा सहभागी हुन गएका छन्। टेबुल टेनिस खेलाडी स्याण्टु श्रेष्ठ दक्षिण एशियाको छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुन सफल भएका छन्। अन्य खेलाडीहरुलाई भने कोटा तथा वाइल्ड कार्डको आधारमा सहभागी गराइएको हो। नेपालले ओलम्पिकमा विभिन्न छ खेलमा सात खेलाडीलाई सहभागी गराउँदैछ। नेपालका अन्य खेलाडीहरुमा जुडोमा मनिता श्रेष्ठ प्रधान, एथलेटिक्समा सन्तोषी श्रेष्ठ, स्विमिङ मा डुवाना लामा र एलेक्जान्डर शाह, ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङमा सुस्मिता नेपाल छन्। नेपालले पहिलोपटक ओलम्पिकमा ब्याडमिण्टनमा भाग लिन लागेको हो। नेपालले ओलम्पिकमा भाग लिएको यो १५ औं पटक हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू