अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३७ | Colorodo: 10:52

नेपथ्य अमेरिका म्युजिकल टुरमा आउने, म्यानह्याटनको टर्मिनल फाइभ प्रस्तुति गर्दै

बिआरटिनेपाल संवाददाता, न्यू योर्क । २०८१ असार ७ गते ८:०५ मा प्रकाशित

नेपथ्यले न्यू योर्कको म्यानह्याटनस्थित टर्मिनल फाइभमा साङ्गीतिक प्रस्तुति दिने भएको छ । तीन हजार दर्शक अटाउने क्षमता भएको टर्मिनल फाइभमा नेपथ्यले आगामी अगष्ट ३० मा साङ्गीतिक प्रस्तुति दिने भएको हो । टर्मिनल फाइभ ठुलो साङ्गीतिक कार्यक्रम हुने ठाउँ हो । 

न्यू योर्कमा याक प्रोडक्सन, डिजे रित र इसेन्स स्माइल्सले नेपथ्यको साङ्गीतिक कार्यक्रम गर्न लागेको हो । ‘नेपथ्य जस्तो लामो इतिहास भएको लोकप्रिय नेपाली ब्यान्डलाई न्यूयोर्कमा प्रस्तुत गर्न पाउँदा हामी एकदमै उत्साहित छौँ,’ इसेन्स स्माइल्सकी सुलोचना गुरुङले भनिन्, ‘यो ऐतिहासिक साङ्गीतिक कार्यक्रमलाई सार्थक बनाउन यहाँहरु सबैको साथ सहयोगको अपेक्षा गरेका छौँ ।’

आयोजकले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नेपथ्यको साङ्गीतिक कार्यक्रमबारे जानकारी दिएको हो । नेपथ्य भएकैले म्यानह्याटनको टर्मिनल फाइभमा कार्यक्रम गर्न लागेको याक प्रोडक्शनकी छोमो डसेलले बताइन् । ‘स्पिकिङ फ्रायांक्ली, इट्स अ भेरी एक्पेन्सिभ प्रोजेक्ट । बट्, वि क्यान्नट डु इन अ स्मल भेन्यू,’ उनले भनिन्, ‘अगेन, दे आर नेपथ्य । वि रेस्पेक्ट द्याट ।’

उनले ‘इन पर्सन’ टिकट ज्यादै कम भएको भन्दै नेपाली गीत सङ्गीतका पारखी र नेपथ्यका फ्यानहरूलाई अनलाई टिकट किन्न अनुरोध गरिन् । ‘जति सस्तोमा बेच्न सकिन्छ अहिले त्यति सस्तोमा टिकट अनलाइन उपलब्ध छ,’ उनले भनिन्, ‘अहिले फस्र्ट फेजमा टिकट नकिने पछि फेज टुमा टिकटको मुल्य बढ्छ ।’ अहिले टिकटको अनलाइन मुल्य करिब १ सय ५ डलर छ । त्यसमध्ये ८० डलर आयोजकले पाउने छन् ।

‘नेपथ्य आफैमा ठुलो नाम हो,’ डिजे रितका ठिले थकालीले भने, ‘नेपथ्यले २०१५ मा एक पटक कन्सर्ट गर्नुभएको थियो। यति धेरै वर्षपछि आफैँले कन्सर्ट आयोजना गर्न पाउँदा गर्व लागिरहेको छ ।’ कार्यक्रम आयोजना स्थलमा पार्किङ पाउने सम्भावना कम छ । साथै, पे पार्किङ महँगो भएकाले सार्वजनिक सवारी साधन प्रयोग गर्नु उपयुक्त हुने आयोजकको भनाइ छ ।

टिकटका लागि आयोजकले बनाएको ब्रोसरमा रहेको क्युआर कोड स्क्यान गर्नु पर्नेछ । साथै, टर्मिनल फाइभको वेबसाइट वा गुगल सर्च गर्दा पनि टिकट खरिदको लिङ्क सजिलै भेटिन्छ ।

टर्मिनल फाइममा साँझ ठिक ९ बजे नेपथ्यले प्रस्तुति सुरु गर्ने आयोजकले बताएका छन् । कार्यक्रम स्थलमा नेपाली खानाको स्टल समेत हुनेछ। आयोजकले कार्यक्रममा मदिराजन्य पदार्थ राख्ने छैन । तर, टर्मिनल फाइभ व्यवस्थापनको बार भने खुला रहने छ । नेपथ्यले लोक सङ्गीतलाई रक शैलीमा गाएर नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रियकरण गर्न ठुलो भूमिका खेलेको छ । बन्दको समयमा शान्तिका लागि शिक्षा अभियान लिएर गाउँ गाउँमा पुगेको छ।

नेपथ्यको अमेरिकाको म्युजिकल टुर अगस्ट ३ बाट कोलोराडो बोल्डर थिएटरबाट सुरु हुनेछ । नेपथ्यले हालसम्म अगस्ट ६ र ७ मा पेन्सिलभेनियाको द फोरम अडिटोरियम, अगस्ट ९ र १० मा सान फ्रान्सिस्कोको द वारफिल्ड, अगस्ट १६ र १७ मा ओहायोको केम्बा लाइभ तथा अगस्ट २३ र २४ मा टेक्ससस्थित अर्भिङको टोयोटा म्युजिक फ्याक्ट्रीमा साङ्गीतिक प्रस्तुति दिने तय भइसकेको छ। त्यस्तै अगस्ष्ट २३ मै बस्टनको रोयलमा पनि नेपथ्यको साङ्गीतिक कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया