अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५९ | Colorodo: 13:14

नेपथ्यले अगस्ट ३० मा न्युयोर्कको टर्मिनल फाइभ तताउने, १६ वर्ष मुनिकालाई ‘फ्री इन्ट्री’

बिआरटिनेपाल संवाददाता, न्यू योर्क । २०८१ भदौ ३ गते २०:०४ मा प्रकाशित

म्युजिकल टुरमा अमेरिकामा रहेको नेपथ्यले अगस्ट ३० मा टर्मिनल फाइभ तताउँदै छ। आयोजकले पत्रकार सम्मेलन गरी कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको र टिकट समेत करिब ७० प्रतिशत बिक्री भइसकेको जनाएको छ।

आयोजक याक प्रोडक्सन, डिजे रित र इसेन्स स्माइल्सले तीन हजार दर्शक अटाउने क्षमता भएको टर्मिनल फाइभमा नेपथ्यको साङ्गीतिक कार्यक्रम गर्न लागेको हो। आयोजकले शतप्रतिशत टिकट बिक्री हुने विश्वास बोकेको छ। साथै, कार्यक्रम नजिकिँदै गर्दा टिकट अभाव हुन सक्ने जनाएको छ। ‘परिवारका सबै सदस्यले मनोरञ्जन लिन सकुन् भनेर १६ वर्ष मुनिकालाई फ्री इन्ट्रीको व्यवस्था गरेका छौँ,’ इसेन्स स्माइल्सकी सुलोचना गुरुङले भनिन्, ‘तपाईँहरूले आफूसँग १६ वर्ष मुनिका परिवारका सदस्य लिएर आउन सक्नुहुन्छ।’

याक प्रोडक्शनकी छोमो डसेलले नेपथ्यजस्तो ‘लिजेन्डरी ब्याण्ड’ लाई टर्मिनल फाइभ जस्तो ठुलो ‘भेन्यू’ मा प्रस्तुत गर्न पाउँदा गर्न गर्व लागेको बताइन्। पछिल्लो समय नेपाली कलाकारका लागि न्यू योर्क उर्वर विकल्प बनेको छ। न्यू योर्कमा कलाकार र फिल्महरू बाक्लै आउन थालेका छन्।

टिकटका लागि आयोजकले बनाएको ब्रोसरमा रहेको क्युआर कोड स्क्यान वा गुगल सर्च गर्नु पर्नेछ। साथै, टर्मिनल फाइभको वेबसाइट वा गुगल सर्च गर्दा पनि टिकट खरिदको लिङ्क सजिलै भेटिन्छ।

टर्मिनल फाइममा साँझ ठिक ९ बजे नेपथ्यले प्रस्तुति सुरु गर्ने आयोजकले बताएका छन् । तर, मानिस धेरै हुने भएकाले साढे सात बजे तिरै पुगेर आफ्नो स्पट सुरक्षित गर्न र भीड व्यवस्थापनमा सहयोग पु¥याइदिन उनीहरूको अनुरोध छ। कार्यक्रम स्थलमा नेपाली खानाको स्टल समेत हुनेछ। आयोजकले कार्यक्रममा मदिराजन्य पदार्थ राख्ने छैन। तर, टर्मिनल फाइभ व्यवस्थापनको बार भने खुला रहने छ। नेपथ्यले लोक सङ्गीतलाई रक शैलीमा गाएर नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रियकरण गर्न ठुलो भूमिका खेलेको छ। बन्दको समयमा शान्तिका लागि शिक्षा अभियान लिएर गाउँ गाउँमा पुगेको छ।

नेपथ्यको अगस्ट ३ बाट कोलोराडो बोल्डर थिएटरबाट अमेरिकाको म्युजिकल टुर सुरु गरेको हो। नेपथ्यले १० मा सान फ्रान्सिस्कोको द वारफिल्ड र अगस्त १७ मा ओहायोको केम्बा लाइभमा प्रस्तुति दिइसकेको छ। नेपथ्यले २४ मा टेक्ससस्थित अर्भिङको टोयोटा म्युजिक फ्याक्ट्रीमा सेप्टेम्बर १ मा मेरिल्याण्ड र सेप्टेम्बर ७ मा पेन्सिलभेनियामा साङ्गीतिक प्रस्तुति दिने छ।

सम्बन्धित सामग्रीहरू