अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५१ | Colorodo: 10:06

चीनको ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८१ जेठ १० गते ६:०४ मा प्रकाशित

चीनको ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धनको कार्यक्रम भएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) ले संयुक्त रूपमा ग्वान्जाओमा आयोजित ३२ औँ ‘ग्वान्जाओ इन्टरनेशनल ट्राभल फेयर’ (जीआईटीएफ) मा सक्रिय सहभागी भई नेपालको पर्यटन प्रवर्द्धन गरेको छ ।नेपालको पर्यटन बजारका लागि चीन भारतपछिको दास्रो ठूलो गन्तव्य हो । साथै चीन विश्वको ‘आउटबाउन्ड टुरिजम’ अर्थात् देशबाहिर घुम्ने पर्यटकहरूको सूचीमा शीर्षस्थानमा रहँदै आएको छ । चीनको कुल पर्यटकमध्ये एक प्रतिशतमात्रै पनि नेपाल ल्याउन सके पर्याप्त हुने जानकारहरू बताउँछन् ।

चीनबाट धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपालमा आकर्षित गर्न विभिन्न पर्यटन व्यापार मेला आयोजना हुँदै आएका छन् । दुई देशबीच विभिन्न समयमा हुने कुटनीतिक भ्रमण र सांस्कृतिक भ्रमणले पर्यटन, संस्कृतिको माध्यमबाट सम्बन्धलाई थप प्रगाढ बनाइरहेको छ । अहिले ग्वान्जाओबाट चीनको साउदर्न एअरलाइन्सले हरेक दिन एउटा उडान गरिरहेको छ । आउँदो जुन १ तारिखदेखि दिनमा दुई वटा उडान गर्ने तयारी गरेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा चीनबाट ६० हजार आठ सय ७८ जना पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया