अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 01:44

अस्ट्रियाको भियनामा नेपाली महिलाबाट ८ महिनाको बच्चासहित ३ छोराछोरीको हत्या

बिआरटीनेपाल २०७७ कार्तिक २ गते ८:५५ मा प्रकाशित

अस्ट्रियामा एक नेपाली महिलाले ८ महिनाको बच्चासहित ३ छोराछोरीको हत्या गरेकी छिन् । अस्ट्रियाको भियना बस्ने ती महिलाले ९ वर्ष, ३ वर्षका छोरीहरू र ८ महिनाको छोराको हत्या गरेकी हुन् ।

ती महिलालाई शनिवार प्रहरीले पक्राउ गरिसकेको छ । उनले बच्चाको हत्यापछि आफ्नै ज्यान समेत आफैले लिन चाहेको बताएकी थिइन् । सबैभन्दा जेठी छोरीलाई अस्पतालमा जीवितै लगिए पनि बचाउन नसकिएको जनाइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै घटनाको पृष्ठभूमिबारे अहिलेसम्म कुनै कुरा सार्वजनिक भएको छैन । तर ती महिला गुल्मी स्थायी घर भई पछिल्लो समयमा बुटवल बस्ने त्यसपछि अस्ट्रिया गएको जनाइएको छ ।

ती महिला हालै मात्र श्रीमानसँग अलग्गै बस्दै आएको जनाइएको छ । उनका श्रीमानपनि भियनामा नै बस्दै आएका छन् । छोराछोरीको हत्यापछि महिला आफैले प्रहरीमा फोन गरेर बच्चा बच्चीको हत्या गरेको जानकारी दिएकी थिइन् ।

प्रहरीलाई फोन गरेर उनले अब आफूले आफैले मार्न लागेको बताएकी थिइन् । त्यसपछि तत्कालै प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा ती महिलाले आफ्नो शरीरमा समेत चक्कु प्रहार गरेकी थिइन् । तर महिलाको अवस्था गम्भीर नभएकाले उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ती महिलाले शनिवार बिहान ५ बजेर २० मिनेट जाँदा प्रहरीलाई फोन गरेकी थिइन् । त्यसपछि ती महिलाले आफ्नो हातमा घाउ बनाएकी थिइन् । तर घाउ भने सामान्य मात्रै रहेको जनाइएको छ ।

ती महिला कान्छो छोरा जन्मेदेखि नै मनोवैज्ञानिक रूपमा विक्षिप्त बन्दै आएको जनाइएको छ । उनको बारम्बार आफ्ना ४४ वर्षका श्रीमानसँग झगडा हुने गरेको बताइएको छ । उनीहरू ४ वर्षदेखि अस्ट्रियामा बस्दै आएको जनाइएको छ ।

गत महिना उनीहरूबिच झगडाले उग्र रूप लिएको थियो । त्यसपछि दुबैजनाबीच हानाहान समेत भएको थियो । त्यसपछि उनका पतिले घर छाड्ने अवस्था आएको थियो भने उनका पतिलाई घरमा जानमा कानुनी रोक लगाइएको थियो, जुन रोक सेप्टेम्बरको अन्त्यसम्म कायम रहेको थियो ।

त्यसपछि महिलाले अनुरोध गरेको खण्डमा उक्त रोकको अवधि थपिन सक्ने भए पनि महिलाले अनुरोध भने नगरेको प्रहरीले जनाएको छ । महिलाले बयानमा पनि बच्चाहरूको हत्या गरेको स्वीकार गरेकी छिन् तर उनको नाम भने सार्वजनिक गरिएको छैन । खसोखासबाट

Photo: google

प्रतिक्रिया