चैत्र अन्तिममा फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’ रिलिज हुँदैछ । जसमा सलिनमान बनियाको अभिनय रहेको छ । सलिन यसमा यात्रीको भूमिकामा छन् । यात्राको क्रममा आउने आरोह अवरोहलाई यसमा देखाइएको यस फिल्मको ट्राभल गीत रिलिज गरिएको छ । ट्राभल गीतलाई काठमान्डूबाट सुरु गरिएको छ भने यसमा सोलुखुम्बुसम्मको यात्रालाई देखाइएको छ । गीतमा धर्मेन्द्र सेवन, मेलिना राई, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको छ भने यसमा शब्द र सङ्गीत प्रतीक पौडेलको रहेको छ । डेब्यु फिल्म ‘ए मेरो हजुर २’ मार्फत नै आफ्नो एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका सलिन यस फिल्म मार्फत निकै आश्वादी छन् । भ्ल्गिस्टको भूमिकालाई उनले सक्दो न्याय गरेको बताउँछन् । ‘मैले चाहेकै किसमको भूमिकालाई यसमा निर्वाह गरेको छु’ सलिन भन्छन् ‘फिल्मले नेपालको आन्तरिक पर्यटनलाई प्रवर्द्धन त गर्छन् नै दर्शकलाई पनि लोकेशनले आँखामा शीतलता दिन्छ ।’
फिल्मलाई सम्राट् शाक्यले निर्देशन गरेका छन् । दुई दशक अगाडी सहायक निर्देशक भई यसक्षेत्रमा भित्रिएका सम्राट्ले मुख्य सहायक निर्देशक भइकाम गरेको फिल्महरू के यो माया हो, मेरो लभ स्टोरी, कोही मेरो, नोभेम्बर रेन, होम वर्क, छक्का पन्जा, ऐश्वर्य, कृ लगायत चर्चामा थिए । ‘फिल्मको कथावस्तु यात्रामा केन्द्रित छ तर यसले पूर्ण रूपमा मनोरञ्जन दिन्छ’ निर्देशक शाक्य भन्छन् ‘फिल्ममा चाहिने सम्पूर्ण तत्त्व यात्रामा छ ।’फिल्ममा यात्राको क्रम आउने परिस्थिति, माया र मित्रतालाई देखाइने उनले बताए ।
यसमा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जङ्ग कुँवर, ईश्वर पौडेल, नानीकाजी डङ्गोल, राजेश बिसुराल, ईश्वर पौडेल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै छिन भने यसमा विदेशी कलाकारहरू चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रूपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अङ्कित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुत कर्ता रहेको फिल्ममा विक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माता रहेका छन् ।
फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथा पनि सम्राट्कै रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेश नै रहेका छन् भने यसलाई सञ्जय लामाले खिचेका हुन् । फिल्ममा कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिश शाहको सम्पादन, आशिष् पौडेलको कस्ट्युम डिजाइन, जटा शङ्कर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेको छ । फिल्ममा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतीक पौडेल र कोविद बज्रको सङ्गीत रहेको छ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसको डिजाइनर टौवा क्रिएसनले गरेका हुन् ।
सलिनमान बनिया: यो गीत ट्राभल गीत हो । यसमा मैले इन्जोय गरे । ट्राभल गर्दा बाटोको रमाइलोलाई यसमा देखाएका छौ भने यसमा नेपालको सुन्दरतालाई पनि देखाउने कोसिस गरेका छौ । गीत खिच्दै गर्दा मैले पनि ट्राभललाई फिल गरे । किनकि मैले ट्राभल निकै कम गरेको छु, प्राय ट्राभल नै मैले फिल्मको छायाङ्कनकै क्रममा गरेको छु । यो फिल्म मेरो लागि पनि यात्रा नै भयो, फिल्मले नेपाललाई नै पनि एक्सप्लोर गर्छ, जस्तो लाग्छ ।
सम्राट् शाक्य: गीतमा पाँच साथीहरू यात्रामा निस्किएपछिको दृश्यलाई देखाएका छौ । यसमा काठमान्डू देखि सोलुखुम्बुसम्मको दृश्यलाई समेट्ने कोसिस गरेका छौ । शुटिंग सुरु भए देखि यसलाई छायाङ्कन गरेका हौ, यो गीतलाई झन्डै ५ दिन लग्यो छायाङ्कन गर्न । गीतमा हामीले साथी बिचको रमाइलो र युनिटलाई प्रस्तुत गर्ने कोसिस गरेका छौ ।